- सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका गाउँपालिकाहरुको बेरुजो सवा अर्ब रुपियाँ देखिएको छ । आर्थिक वर्ष ०८०।०८१ को अन्तिम बार्षिक लेखा परिक्षण प्रतिबेदनमा महालेखा परिक्षणको कार्यालयले सो बेरुजो औल्याएको छ ।
प्रतिबेदन अनुसार जिल्लाका सात वटा गाउँपालिकाहरुको आर्थिक वर्ष ०८०।०८१ सम्मको कुल बेरुजो रकम एक अर्व १२ करोड ८२ लाख दश हजार रुपियाँ रहेको छ ।
यो बेरुजो औल्याएको रकम मध्य अधिकाँस बेरुजो सैद्धान्तिक अर्थात संपरिक्षण गर्न सकिने देखाईएको छ भने केही भने असुल उपर गर्नु पर्ने शिर्षकमा राखिएको छ । जिल्लाका गाउँपालिका मध्य सर्केगार्ड गाउँपालिकाको बेरुजो सबै भन्दा बढी रहेको छ ।
उक्त गाउँपालिकाको नाममा हालसम्म ३२ करोड ४२ लाख २२ हजार रुपियाँ बेरुजो औल्याईएको छ । त्यसपछि अदानचुली गाउँपालिकाको बेरुजो रकम २३ करोड ६२ लाख चार हजार रहेको छ । यता तेस्रो ठुलो बेरुजो रकम रहेको चङ्खेली गाउँपालिकाको बीस करोड ८३ लाख १५ हजार रुपियाँ रहेको छ ।
त्यसैगरि ताँजाकोट गाउँपालिकाको बेरुजो रकम अठार करोड ५५ लाख ९१ हजार रहेको छ । त्यस्तै सिमकोट गाउँपालिकाको बेरुजो रकम सात करोड ४३ लाख १२ हजार रुपियाँ रहेको छ । यता खार्पुनाथ गाउँपालिकाको छ करोड ५६ लाख ३३ हजार रुपियाँ बेरुजो रहेको छ । सबै भन्दा कम बेरुजो नाम्खा गाउँपालिकाको चार करोड ३९ लाख ३३ हजार रुपियाँ रहेको छ ।
महालेखाले स्थानीय तहहरुले यत्रो ठुलो परिणाममा बेरुजो भएपनि गाउँपालिकाले असुल उपर र संपरिक्षणका ध्यान दिन नसकेको समेत उल्लेख गरेको छ । बेरुजो घटाउने नीति समेत गाउँपालिकाले लिन नसकेको महालेखाले आफ्नो प्रतिबेदनमा उल्लेख गरेको छ । प्रत्येक वर्ष बेरुजो घटाउदै नजाने हो भने पछिल्लो वर्षमा बेरुजोको चाङ लाग्ने र पछि काम गर्न नसकिने अबस्थामा गाउँपालिका पुग्ने अबस्था रहने प्रतिबेदनमा उल्लेख गर्दै जति सक्दो बेरुजो रकम घटाउन समेत गाउँपालिकालाई महालेखाको प्रतिबेदनले सुझाव दिएको छ ।

















