तीव्र चक्रवाती आँधीपछि भारतमा भारी वर्षा

सि.टा समचारदाता

तीव्र चक्रवाती आँधी दानाको अवतरण पछि  पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन्। 

अधिकारीहरूका अनुसार चक्रवात दानाले ओडिसाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बिचमा मध्यरातमा अवतरण गरेको थियो।

करिब १००–११० किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातले ओडिसा र पश्चिम बङ्गालका धेरै क्षेत्रहरूमा रूखहरू ढलाउनुका साथै  बिजुलीका तारहरूमा क्षति पुर्याएको जनाइको छ। 

चक्रवातले केही अत्यावश्यक नागरिक सेवाहरूमा बाधा पुगेको छ भने बालीलाई क्षति पुर्‍याई  प्रभावित क्षेत्रको जन– जीवनमा असर पारेको छ। यद्देपी अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार दाना चक्रवातको अवतरण प्रक्रिया सम्पन्न भइसकेको छ । चक्रवात उत्तर ओडिसा हुँदै उत्तरपश्चिमतर्फ बढ्ने र आगामी पाँच  घन्टामा बिस्तारै कमजोर हुने सम्भावना छ। 

चक्रवातको अवधिमा सावधानीको लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाइ तथा रेल सेवाहरू शुक्रवार बिहान देखि पुनः सुरु भएको  अधिकारीहरूले जनाएका छन्।

प्रभावित राज्यका स्थानीय सरकारहरूले करिब दश लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी  विद्यालयहरू बन्द गरेको सुचना जारी गरेका थिए।  

प्रभावित राज्यका जिल्लाहरूमा, अधिकारीहरूले स्थानीयको सहायताका लागि स्थानीय विपद् व्यवस्थापन कर्मचारी, प्रहरी, चिकित्सा टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू तैनाथ गरेका थिए।