सि.टा. समाचारदाता
सिमकोट । एक्कासि माथिबाट आएको सुख्खा पहिरोले सडक भत्काएपछि यातायात सेवा पुर्ण रुपमा अवरुद्ध भएको छ । कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका– ७ को धारापोरी गाउँमा ठाडो ढुङ्गामा आईतबार पाँच बजेबाट यातायात सेवा अबरुद हुँदै आएको हो ।

चौगानफया गाउँका स्थानीय मानबहादुर शाहीले पहिरो गएको सडक भन्दा चार सय मिटर माथि रहेको आफ्नो घरमा बसी रहेको बेला सिमकोट जाँदै गरेको साथीले फोन गरेर घरको मुनितिर पहिरो गएको सुनाएको बताए । एक्कासी ठुलो पहिरो गएका बेला आफुले भुकम्प आएको महशुस गरेको उनले बताए । पछि बाहिर निस्केर हेर्दा धुलै धुलै उडेको देखिएको उनले बताए । सुख्खा पहिरोको कारण उडेको धुलो नजिक जाँदा त ठाडो ढृङ्गामा सुख्खा पहिरो गएको देखिएको उनले बताए । सडकमा माथिबाट आएको सुख्खा पहिरो कारण दुई सय मिटर सडक पुरिएको कारण यातायात सेवा पुर्ण रुपमा बन्द भएको उनले बताए ।

पहिरोको कारण सडक अबरुद भएपछि सिमकोटबाट गएका यातायातका साधन चारटाँगेसम्म पुगेर सिमकोट फिर्ता हुने गरेका छन् भने हिल्साबाट आएका गाडी धारापोरी गाउँको माथिसम्म आउने गरेरका छन् । पहिरोले अबरुद्ध भएको सडकमा मानिस आउजाउ गर्न नसक्ने भएको कारण पैदल यात्रुहरु र खच्चड सवै चौगानफया गाउँ भएर जाने गरेका छन् । सो क्षेत्रको सडकमा दुई सय मिटर लम्वाई र डेढ सय मिटर माथिबाट सुख्खा पहिरो खसेको छ ।

पहिरोले तीन वटा बिधुतका पोलहरु ढालेको कारण बिधुत सेवा अबरुद्ध भएको छ । त्यसैगरि धारोपोरी गाउँका लागि खानेपानीको पाईपलाईन समेत पहिरोले बगाएको कारण पानीको समस्या सुरु भएको छ । सोमबार हिउसो दुई बजेसम्म सुख्खा पहिरो खस्ने क्रम रोकिएको छैन् । पहिरोले क्षेती पुर्याएको सडकको धारापोरी प्रहरी चौकीबाट आएको प्रहरीले वडा अध्यक्ष बलबिर शाही, आयोजनाका कर्मचारी, सञ्चारकर्मी र स्थानीय बासिन्दाको रोहवरमा मुचुल्का तयार पारेको छ । सो खण्डको सडकमा हाल हिल्सा सिमकोट सडक आयोजनाको लगानीमा दाप्चा आरएन जेभी हेटौडाले निर्माण कार्य जारी राखेको थियो । सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि निर्माण कार्य समेत रोकिएको छ ।

निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सरोज रावतले माथिबाट सुख्खा पहिरो खस्ने क्रम नरोकिदासम्म पहिरो पन्छाउने कार्य गर्न कठिन हुने बताए । सो खण्डको सडकको निर्माण कार्य आगामी पुस मसान्तसम्म सम्पन्न गरि सक्नु पर्छ । यसका लागि आयोजनाले आठ करोड रुपियाँ लागत लाग्ने गरि निर्माण कम्पनीसं सम्झौता गरेको थियो । पहिरो गएपछि निर्धारित मितिमा सडकको निर्माण कार्य सम्पन्न हुने कार्य समेत अन्यौलमा परेको छ । त्यसैगरि पहिरोले चौगानफया गाउँ जाने बाटो र मान बहादुर शाहीको घर समेत जोखिममा परेको छ ।

















