छलफलमा जुट्दै ओली-देउवा, के छ एजेन्डा?

सि.टा. समाचारदाता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफलको तयारी छ। यसअघि सोमबार पनि छलफल गरेका ओली र देउवाले आज मंगलबार पनि छलफल गर्न लागेको निकाट स्रोतले जनाएको छ ।

आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्‍को बैठक बस्दैछ। स्रोतका अनुसार उक्त बैठकअघि यी दुई नेता भेटे‍र छलफल गर्ने तयारीमा छन्। यद्यपि, छलफलको विषय र समय भने खुलाइएको छैन।

यसअघि सोमबार भएको छलफलमा प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्रिपरिषद्को फेरबदललगायतका विषयलाई प्राथमिकता दिइएको थियो। स्रोतका अनुसार प्रधानमन्त्री ओली र देउवा मन्त्रीहरू फेरवदलको तयारीमा छन्। यी दुईबीचको बाक्लिएको भेट यसै विषयमा केन्द्रित हुनसक्ने आँकलन गरिकएको छ।

कांग्रेस सभापति देउवाले आज बिहान बूढानीलकण्ठमा कांग्रेसका महामन्त्री द्वय: विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका थिए। यता, प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीको ‘कम्बोडियामा लगानी रहेको’ भन्ने मेडिकल व्यावसायी दुर्गा प्रसाईँको अभिव्यक्तिले पनि यतिबेला राजनीतिक बृत तातेको छ। यद्यपि, एमालेका नेताहरूले सो कुरा भ्रामक रहेको भन्दै प्रसाईँलाई कारवाहीको माग गरिरहेका छन् ।