सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– २ को छोसाङमा नयाँ ट्रस ब्रीजको निर्माण कार्य भएको छ । पशु बस्तु चरन । जडिबुटी संकलन गर्न जाने स्थानीयहरुका लागि सो व्रीज निर्माण कार्य भएको हो ।
काम गरेपछि हुन्छ भन्ने मान्यता स्थापित गर्दै जिल्लामा बाईस दिनमा नयाँ ट्रस ब्रीजको निर्माण कार्य सम्पन्न भएको छ । ट्रस ब्रीज निर्माणका लागि आवश्यक सामाग्री ढुवानी गर्ने कार्य समय मै हुँदा निर्माण कार्य सुरु भएको छोटो अवधिमा सो पुलको निर्माण कार्य सम्पन्न गर्न सम्भव भएको हो ।
ट्रस ब्रीज निर्माण उपभोक्ता समितिका अध्यक्ष छिमेल लामाका अनुसार एक हप्तामा पुलका लागि सिमेन्टेड गाह्रो लगाउने कार्य सम्पन्न भएको कारण निर्माण कार्य सुरु भएको बाईस दिनमा सबै काम सम्पन्न भएको हो ।
उक्त ट्रस ब्रीज नाम्खा गाउँपालिका– २ को केर्मी गाउँको छोसाङमा निर्माण गरिएको हो । पुल निर्माण स्थलमा फिल्डको काम एकातिर सुरु गरिएको थियो भने अर्कोतर्फ ट्रस ब्रीजका लागि आवश्यक पर्ने स्टिल पार्टका सामानहरु ढुवानी गर्ने कार्य पनि संगै गरिएको हो ।
पुल निर्माण स्थलको काम सम्पन्न भए लगत्तै स्टिल पार्ट जडान कार्य पनि दक्ष प्राविधिकबाट सुरु भएको नौ दिनमा सो काम सम्पन्न भएको थियो । यो पुल ३२ मिटर लम्वाई रहेको छ । यसअघि उक्त खोलामा काठेपुलबाट चरनका लागि पशुबस्तु लग्ने गरिएकोमा अब भने ट्रस ब्रीजबाट पशुबस्तु तार्ने र स्थानीयलाई जडिबुटी संकलन गर्न जान सहज भएको छ ।
यो ट्रस ब्रीज कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग, जिल्ला पुर्वाधार बिकास कार्यालय हुम्लाको सहकार्य र स्लोल्याण्ड एकिकृत विकाश केन्द्र हुम्लाको प्राबिधिक सहयोगमा निर्माण गरिएको केन्द्रका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले बताए ।
यसका लागि लागत कर्णाली प्रदेश सरकारको ६८ लाख ६३ हजार ८७६ रुपियाँ र स्थानीय समुदायको एक लाख ४० हजार ७९ रुपियाँ गरि कुल सत्तरी लाख तीन हजार ९५५ रुपियाँ रहेको छ । पुलको निर्माण कार्य गत कातिक २० गते सुरु भएको थियो । निर्माण कार्य सम्पन्न भएपछि सञ्चालनमा समेत आएको छ ।


















