सि.टा समचारदाता
हामीले जति पनि मुटुको शल्यक्रिया गर्छौं, ती बिरामीको इतिहास हेर्दा धेरै मासु प्रयोग गर्ने, रातो मासु धेरै खाने, धेरै तारेको र भुटेको खाने गरेको भेटिएको मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले बताएका छन् । कान्तिपुरले सोमबार आयोजना गरेको ‘कस्तो छ खाने तेलको गुणस्तर ?’ विषयक अन्तर्क्रियामा उनले व्यक्त गरेका विचार :
खाने तेलको गुणस्तर र मुटुको स्वास्थ्यसँग कस्तो सम्बन्ध छ भन्ने विषयमा धेरै अनुसन्धान भएका छन् ।
नेपालमा भने धेरै अनुसन्धान हुँदैनन्, त्यही भएर त्यति थाहा हुँदैन । फ्याट तीन किसिमका हुन्छन्— स्याचुरेटेड, अनस्याचुरेडेट र ट्रान्सफ्याट । त्यसमा स्वास्थ्यका लागि नराम्रो भनेको स्याचुरेटेड र ट्रान्सफ्याट हुन् ।
स्याचुरेटेड फ्याट विशेषगरी जनावरको फ्याटमा पर्छ । जस्तै, दूधबाट बन्ने उत्पादन । ट्रान्सफ्याटमा तारेको र भुटेको खानेकुरा पर्छन् । यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हाम्रो मुटुलाई असर गरिरहेको हुन्छ ।
किनभने तिनीहरूले हाम्रो शरीरमा एलडीएल कोलेस्ट्रोल बढाउँछन् । यो रक्तनली र मुटुका लागि हानिकारक मानिन्छ । नराम्रो कोलेस्ट्रोल बढेपछि त्यसले राम्रोखाले कोलेस्ट्रोल अर्थात् एचडीएल (हाइडेन्सिटी लिपिड) लाई घटाउँछ ।
अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ– मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड । त्यसमा विशेषगरी वनस्पतिबाट बनेको ओलिभ, एभोकाडो र नट्सबाट बनेका तेल स्वास्थ्यका लागि लाभदायक मानिन्छन् ।
जनावरबाट बनेका फ्याटमा हामी धेरै भर पर्यौं । यसमा हाम्रो अनस्याचुरेटेड फ्याट खाने बानी बस्यो । हामीले एन्टिअक्सिडेन्ट, भेजिटेबल फ्रुट्स, मासु कम खाने भएकाले सन्तुलन छ । तर अहिले अनस्याचुरेटेड खाने ट्रेन्ड छँदै छ । त्यसमा ट्रान्सफ्याट पनि जोडियो ।
त्यसले गर्दा खाने तरिका पछिल्लो समय अझ अस्वस्थकर बनेको हो । इटालीमा पिज्जालाई जंक फुड मानिँदैन । तर हाम्रोमा पिज्जा जंक फुड हो । किनभने हामीले त्यसलाई कसरी बनाइरहेका छौं, महत्त्वपूर्ण छ । उनीहरूले हरेक खानामा ओलिभ तेल राखेर खान्छन् ।
त्यो चलन हाम्रोमा छैन । बिस्तारै आउन थालेको छ ।
हरेक व्यक्ति आफ्नो स्वास्थ्यका लागि आफैं जिम्मेवार हो । त्यसपछि मात्र अरू जिम्मेवार हुन्छन् ।
हाम्रो खानपिनमा कम्तीमा अनस्याचुरेटेड फ्याट भनेको के हो र यो कसरी अस्वस्थकर छ भनेर चर्चा हुन जरुरी छ । त्यसपछि बाँकी कुरामा गुणस्तर नियन्त्रण गर्नुपर्छ । खराब तेलका कारण मुटुमा समस्या हुन्छ ।

















