‘बी’ डिभिजन लिग : प्लानिङ ब्वाइजको विजयी सुरुवात

सि.टा. समाचारदाता

प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।  एन्फा मुख्यालय मैदान सातदोवाटोमा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २–१ गोलले हरायो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारुले १४औँ र सुजन डंगोलले ६३औँ मिनेटमा गोल गर्नुभयो ।

झापाका लागि पुजन राईले ३९औँ मिनेटमा गर्नुभएको गोल सान्त्वना बन्यो । पहिलो जितसँगै प्लानिङले तीन अङ्क बनाएको छ । झापाले हारबाट लिगको सुरुवात गरेको छ ।

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।  यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।