सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको गोदाममा खाद्यान्न मौज्दात सन्तोसजनक देखिएको छ । अघिल्लो वर्ष कै खाद्यान्न मौज्दात रहनु र यसवर्ष पैदल मार्गबाट खाद्यान्न ढुवानी सुरु भएपछि हालसम्म मै गोदाममा मौज्दात राम्रो देखिएको हो ।
बुधबारसम्म लिमीटेडको गोदाममा चार हजार ८१२ दशमलव ४३ क्वीन्टल खाद्यान्न मौज्दात रहेको लिमीटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर थापामगरले बताए । नयाँ आर्थिक वर्षको खाद्यान्न ढुवानी कार्य जारी रहेको बेला यो मौज्दात खाद्यान्न हालसम्म कै राम्रो रहेको हो । अघिल्लो आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न सवै ढुवानी भएर आएको र यस वर्षको पनि पैदल मार्गबाट खाद्यान्न ढुवानीको ब्यवस्था भएको कारण मौज्दात राम्रो देखिएको छ ।
अर्को कुरा पहिले जस्तो सर्वसाधारणले जति पाएपनि खाद्यान्न घरमा लिएर भण्डारण गर्ने प्रबृति हटेको कारण पनि गोदाममा खाद्यान्न मौज्दात राम्रो देखिएको हो । सर्वसाधारणलाई आवश्यकताका आधारमा लिमीटेडको शाखाले खाद्यान्न बिक्री गर्ने गरेको छ । यसवर्ष तेह्र हजार खाद्यान्न कोटा शाखा कार्यालयको लागि निर्धारण गरिएकोमा हालसम्म तीन हजार २३३ दशमलव पचास क्वीन्टल खाद्यान्न ढुवानी भई सकेको छ भने ढुवानी हुने क्रम जारी रहेको छ ।
अव नौ हजार ७६६ दशमलव पचास क्वीन्टल ढुवानी भएर आउन बाँकी रहेको छ । शाखासंग रहेका दुई वटा गोदाममा खाद्यान्न भरिएको कारण अब अर्को गोदामको आवश्यकता खड्किएको कारण त्यसको पनि ब्यवस्था भएको होे । लिमीटेडले सहुलियत दरमा प्रतिकेजी १२५ रुपियाँमा चिनी पनि बिक्री गर्दै आएको र र हाल नौ दशमलव १९ क्वीन्टल चिनी मौज्दात रहेको छ । बजारमा चिनी प्रतिकेजी १३५ रुपियाँ पर्ने गर्छ ।


















