जिल्ला सभाद्धारा ४५ वटा बस्तीलाई स्थान्तरण गर्न माग

सि.टा. समाचारदातता

सिमकोट । जिल्ला समन्वय समितिको आठौ जिल्ला सभाद्धारा जिल्ला भित्रको सात वटै गाउँपालिकाका ४५ वटा बस्तीहरुलाई स्थान्तरणको माग गरिएको छ । बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै सभाले त्यस्ता बस्तीहरुलाई एकिकृत बस्ती बिकास कार्यक्रमका लागि स्थान्तरणको माग गरिएको हो । जिल्ला बिपद ब्यवस्थापन समितिको सिफारिस अनुसार जिल्ला सभाले जिल्ला भित्रका ४५ वटा वस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको कारण एकिकृत बस्ती बिकास कार्यक्रममा समावेश गरि त्यसलाई स्थान्तरणको ब्यवस्था गर्न प्रदेश सरकारसंग माग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए ।

यी बस्तीहरु बढी जोखिममा रहेको कारण प्रदेश सरकारले हाल सञ्चालन गर्दै आएको एकिकृत बस्ती बिकास कार्यक्रममा समेटेर सुरक्षित स्थानमा स्थान्तरण गर्न आवश्यक रहेको कारण यो माग सभाले गरेको होे । यसरी सभाले बस्ती नै स्थान्तरणको माग गरिएका बस्तीहरुमा नाम्खा गाउँपालिका– १ हेक्पा, ३ को लामा खोल्सी, ४ को चाला, ५ न्याम रहेका छन भने सिमकोट गाउँपालिका– १ को ठेहे ४ को स्याम्ने, ५ को खाद्यक गाउँ र ७ को धारापोरी, चौगानफया र टुलिङ वस्ती रहेका छन् । त्यसैगरि खार्पुनाथ गाउँपालिका– १ पिउस र चिसामुल,२ को थाली, ३ को कारङ्ग, ४ को नल्ना र ५ को ताक्ला, बाम्टा बस्ती रहेका छन् ।

यता सर्केगार्ड गाउँपालिका–१ को जैर, २ रिप, ३ को उनापानी, ६ को छ्यागी, ८ को फुचा र राहदेउ वस्ती रहेका छन् । त्यस्तै चङ्खेली गाउँपालिका– २ को भिडगाउँ, गर्खा दलित वस्ती, ६ को राती र निमागाउँ रहेका छन् । त्यसैगरि अदानचुली गाउँपालिका– १ को महतारा गाउँ, २ तुम्च र कुलालगाउँ, ३ को ढकनीकुना, ४ को रिल्म, लौठी र पाल्स, ५ को कर्गैई र काँख्या दलित वस्ती, ६ को लमही, गैरावाडी, लिस्या र उखाडी रहेका छन् । यता ताँजाकोट गाउँपालिका– २ र ३ का सबै बस्तीलाई सुरक्षित बसोवासका लागि स्थान्तरणको माग गरिएको छ । त्यसैगरि सभाले अव्यवस्थित रुपमा खेती हुँदै आएको खेती योग्य जमिनलाई घेरवार तथा चक्लावन्दीको ब्यवस्थाका लागि सङ्घ तथा प्रदेश सरकारसंग माग गर्ने निर्णय समेत गरेको छ ।