निर्माणधिन बोक्चे गौडा सडकको अनुमगन

फोटो क्याप्सन बोक्ने गौडामा निर्माणधिन सडकको अनुमगन गर्दै टोली । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौडा क्षेत्रको निर्माणधिन सडकको स्थलगत रुपमा अनुगमन गर्ने कार्य भएको छ । कामको तिब्रता र गुणस्तरीय रुपमा काम अगाडी बढोस भन्नका लागि जिल्ला स्तरबाट सो सडकको अनुमगन गर्ने कार्य भएको हो ।

बोक्चे गौडामा निर्माणधिन सडकको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले काम धमाधम भई रहेको बताए । हाल बोक्चे गौडामा होल खोप्ने, बिष्फोट गर्ने र विष्फोट भएको स्थानमा स्काभेटरले सफा गर्ने कार्य एक साथ भई रहेको छ । बोक्चे गौडामा मात्र दुई वटा समुहले काम गरि रहेका छन् ।

दैनिक बिष्फोट गर्ने कार्य पनि जारी रहेको छ । ग्रेड नमिलेको बोक्चे गौडामा हालको सडकलाई पन्द्र मिटर चट्टान तल खसालेर सडक मिलाउने गरि सेनाले काम गरि रहेको छ । अनुगमन टोलीले बढीमा डेढ महिनामा बोक्चे गौडालाई सफा गरेर यातायात सेवा सुचारु गर्ने लक्ष्यका साथ काम अगाडी बढाई रहेको जानकारी दिएको थियो ।

बैशाख १० गतेदेखी १३ गतेसम्म सडक सुचारु गरेको कारण काममा केही ढिलाई भएको भएपनि अव भने लगातार सडक बन्द गरेर काम सुचारु गर्ने सेनाले जनाएको छ । अब बोक्चे गौडामा दैनिक चार बिष्फोट गर्ने गरि होल खोप्ने कार्य समेत गरि रहेको छ ।

सो खण्डमा सेनाले आठ मिटर चौढा सडक निर्माण गर्नेछ । त्यसैगरि अनुगनम टोलीमा रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अव असारसम्म सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिने आशा पलाएको बताए । सबैतिर सेनाले सडक स्तारोन्नतीको कार्य तिब्र रुपमा अगाडी बढाई रहेको कारण समयमा काम सम्पन्न हुने बिस्वास उनले ब्यक्त गरे ।

अर्को कुरा सेनाले याङ्चु कुनाबाट पनि सडक स्तरोन्नती गर्ने कार्य पनि गरि रहेको छ । सो क्षेत्रमा पनि चट्टानी भीरमा विष्फोट गराउने काम पनि गरि रहेको छ । याङ्चु कुनाबाट बोक्चे गौडातर्फ तीन सय मिटर सडकको स्तारोन्नती गर्ने कार्य पुरा भएको छ । अब भिगौडामा काम सुरु गर्न वाँकी रहेको छ ।  गत चैत २५ गतेबाट सो क्षेत्रको सडकको निर्माण कार्य सेनाले सुरु गरेको थियो । अनुगमनमा प्रहरी निरीक्षक सरोज कँडेलको पनि सहभागिता रहेको थियो ।