प्रसुती गृहमा सुत्केरी गराउन एक पैदल बोकेर ल्याउनु पर्ने बाध्यता

सि.टा. समाचारदाता
सिमकोट । गर्भवती महिलाको सुत्केरी हुने अबधि पुगेपछि एक पैदल बोकेर ल्याउनु पर्ने बाध्यता रहेको छ । उत्तरी नाम्खा गाउँपालिकाका बिभिन्न दुर्गमका बस्तीहरुमा प्रयाप्त प्रसुती गृह नभएपछि यसरी प्रसुती गृह भएको स्थानमा ल्याई पुर्याउनु परेको हो ।

नाम्खा गाउँपालिका– ४ को चाला गाउँकी २१ वर्षकी गर्भवती महिला पेमा इटोल लामालाई बेथा लागेपछि मङ्गलबार स्टेचरमा बोकेर याल्वाङ स्वास्थ्य चौकीमा ल्याई पुर्याएको स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले बताए । ती गर्भवती महिलालाई एक दिन पैदल बोकेर ल्याउनु परेको थियो ।

बुधबार स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी निर्माला बिस्वकर्माले सफल रुपमा लामालाई सुत्केरी गराएकी हुन । नाम्खाका एउटा बस्तीबाट स्वास्थ्य चौकी भएको स्थानमा पुग्न चार घण्टादेखि एक दिनसम्म लाग्ने बस्तीहरु धेरै छन् ।

यस्तो कार्य नगर्ने हो भने धेरै गर्भवती महिलाको अकालमा ज्यान जाने जोखिम रहेको छ । यस हिसावले यसवर्ष हालसम्म दश जना गर्भवती महिलालाई बोकेर ल्याई प्रसुती गृहमा संस्थागत सुत्केरी गराउने कार्य भई सकेको छ ।