गाउँपालिका भर छैनन् दक्ष प्रसुती सम्वन्धि तालिम प्राप्त स्वास्थ्यकर्मी

फोटो क्याप्सन तालिम विनै प्रसुती गृहमा सुत्केरी गराउनु भएकी स्वास्थ्यकर्मी, नवजात शिशु र आमा । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा दक्ष प्रसुती सम्वन्धि तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको देखिएको छ । स्वास्थ्य सेवा कार्यालयले प्रसुती सेवा सम्वन्धि स्वास्थ्यकर्मीहरुलाई तालिम दिनेक्रममा नाम्खा गाउँपालिकाबाट छुटाएपछि यो समस्या देखिएको हो ।

हालसम्म गाउँपालिकाभर एक जना पनि प्रसुती सम्वन्धि तालिम लिएको जनशक्ति नभएको स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताए । नाम्खा गाउँपालिकामा चार वट स्वास्थ्य चौकी र छ वटा सामुदायीक आधारभुत स्वास्थ्य इकाई रहेका छन । चार वटा स्वास्थ्य चौकी वडा नम्बर १ को हेक्पा, २ को केर्मी स्वास्थ्य चौकी, मुचु स्वास्थ्य चौकी र लिमी स्वास्थ्य चौकी रहेका छन ।

यी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी भएपनि प्रसुती सेवा सम्वन्धि तालिम प्राप्त स्वास्थ्यकर्मी भने .नभएको बताउदै उनले यसले गर्दा गर्भवती महिला अधिकाँस सदरमुकाम सिमकोट र जिल्ला बाहिर सुत्केरी गराउन जानु पर्ने अवस्था रहेको बताए ।

केही स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउने तर तालिम नलिएकै स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने गरिएको छ । एकातिर टाढा टाढाबाट बेथा लागेपछि गर्भवती महिलालाई एक दिन समय लगाएर प्रसुती गृहमा ल्याउनु पर्ने बाध्यता रहेको छ ।

नेपाल सरकारको स्वास्थ्य नीति तथा कार्यक्रममा प्रत्येक गर्भवती महिलाले अनिवार्य रुपमा संस्थागत सुत्केरी गर्नुपर्ने अर्थात होम डेलिवरी शुन्यमा झार्ने रहेको छ । त्यसमा संस्थागत सुत्केरी भए पनि तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीबाट हुनु पर्ने भनेर मन्त्रालयको स्वास्थ्यका सुचकहरुले खोज्ने गरेकोे छ । तर यो कुरा नाम्खाका लागि हालसम्म लागु हुन सकेको छैन ।

विडम्बना हिमाली क्षेत्र त्यसमा नाम्खा जस्तो दुर्गम र भौगोलिक कठिनाई भएको गाउँपालिकामा प्रसुती गृहहरुमा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनाले त्यस्ता ठाउँका सेवाग्राहीहरुले गाउँ ठाउँ मै सेवा दिन कठिन भएको छ ।

सवै स्वास्थ्य संस्था गरि अठार जना स्वास्थ्यकर्मी दरबन्दी भएकोमा हाल बाह्र जना कार्यरत रहेको र तीन जना अध्ययन बिदामा गएको र बाँकी तीन जना प्रदेश सरकारबाट बजेट कम निकासा आउने भएको कारण भर्ना नै गरिएको छैन् ।

स्वास्थ्य सेवा कार्यालयले प्रसुती सेवा सम्वन्धि तालिम दिदा नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी छुटाएको कारण यो समस्या देखिएको हो । आगामी दिनहरुमा यस्तो खाले तालिमहरुमा प्रथामिकताको आधारमा छनोट र सहभागीे गराउने व्यवस्था गर्न उनले स्वास्थ्य सेवा कार्यालयसंग माग गरे ।

यसअघि एक जना करार स्वास्थ्यकर्मीलाई तालिम दिएको तर पछि गाउँपालिकाले हटाएको कारण यो समस्या आएको स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।

यो दुई महिने तालिम प्रदेशले आयोजना गर्ने भएको कारण सहजै तालिममा सहभागिता गराउन पनि सजिले नभएको त र अब हुने त्यस्ता तालिममा नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताईन