साक्षर जिल्ला घोषित

फोटो क्याप्सन हुम्ला जिल्लालाई साक्षर जिल्ला घोषित गरिदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्ला साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका सात वटै गाउँपालिका साक्षर गाउँपालिका घोषित भएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरि जिल्लालाई घोषित गरिएको हो ।

पन्द्र वर्ष माथि र ५९ वर्ष मुनिका जिल्लावासी साक्षरता प्रतिशतको आधारमा हुम्ला जिल्ला साक्षर घोषित संविधान सभाका सदस्य छिमी दोर्जे लामाले गरेका थिए । हुम्ला जिल्लाका ९६ दशमलव ०४ प्रतिशत जिल्लावासी साक्षर भएको कारण मापदण्ड भित्र परेपछि जिल्ला नै घोषित गरिएको होे । उक्त उमेर समुहका २५ हजार ३५४ जनसंख्यामा ३३ हजार ९५४ जनसंख्या साक्षर भएपछि जिल्लालाई घोषणा गर्ने बाटो खुलेको हो ।

अझै तीन दशमलव ९६ प्रतिशत अर्थात एक हजार चार सय जनसंख्या निरक्षर रहेको शिक्षा बिकास तथा समन्वय इकाईको बिबरणले देखाएको छ । कार्यक्रममा साक्षर जिल्ला घोषणा हुनु आफैमा सकरात्मक कुरा भएको भएपनि यसलाई दिगो बनाई राख्न र हालको निरक्षण संख्यालाई साक्षर बनाउन चुनौतीका रुपमा रहेको छ ।

यसअघि सवै भन्दा पहिले खार्पुनाथ गाउँपालिकालाई २०७९ सालको असार ३१ गते ९५ दशमलव पाँच प्रतिशत जनसंख्या साक्षर भएपछि पहिलो गाउँपालिका घोषित गरिएको थियो । त्यसपछि २०८० बैशाख २५ गते ९५ दशमलव छ प्रतिशत जनसंख्या साक्षर भएपछि दोस्रो गाउँपालिकाका रुपमा सिमकोट गाउँपालिकालाई घोषणा गरिएको थियो ।

त्यसैगरि २०८० असार २५ गते ९५ दशमलव ७४ प्रतिशत जनसंख्या साक्षर भएपछि सर्केगार्ड, सोही वर्षको असा २७ गते ९८ दशमलव २८ प्रतिशत जनसंख्या साक्षर भएपछि ताँजाकोट गाउँपालिका, असार २८ गते ९५ दशमलव ६४ प्रतिशत जनसंख्या साक्षर भएपछि अदानचुली , २९ गते९५ दहमलव २४ प्रतिशत साक्षर जनसंख्या

भएपछि चङ्खेली गाउँपालिका २०८१ फागुन २७ गते ९६ दशमलव १६ प्रतिशत जनसंख्या साक्षर भएपछि नाम्खा गाउँपालिकालाई घोषणा गरिएको थियो । यसअघि घोषणा कार्यक्रममा साक्षर जिल्ला घोषणा गर्नमा योगदान पुर्याउने गाउँपालिकाका गैरसरकारी निकाय, संचार माध्यमहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बिधार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा समन्वय प्रमुख शिबराज शर्मा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ कर्णबहादुर रावल, चंखेलीका प्यारीलाल शाही, अदानचुलीका मोहन बिक्रम सिंह, प्रजिअ नारायण पाण्डेय, खार्पुनाथका उपाध्यक्ष ज्ञानबहादुर सिंह, अदानचुलीका उपाध्यक्ष कर्ण रोकाया, राजनीति दलमा काँग्रेस उपसभापति कैलाश भण्डारी, एमाले उपाध्यक्ष प्रकाश बहादुर शाही, माओवादी ताक्ला जिक्मे लामा, राम्रपा अध्यक्ष बिकास महत, रास्वपा नेता दलका नेताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । हुम्ला जिल्ला कर्णालीमा सातौ र देशमा ६७ औ स्थामनमा घोषित भएका छन ।