पचासी प्रतिशत रोपाई सम्पन्न

फोटो क्याप्सन खार्पुनाथ गाउँपालिकामा रोपाई गर्दै किसान । तस्बिर ः सि.टा.

लोग भण्डारी
सिमकोट । हिमाली जिल्ला हुम्लामा पचासी प्रतिशत मार्सी धान रोपाई सम्पन्न भएको छ । खडेरी परेको भएपनि सिंचाई सुविधा पुगेको कारण धान रोपाई कार्य गर्न सम्ंभव भएको हो ।
सर्केगार्ड गाउँपालिका– ३ का किसान दाने फडेराले आफ्नो वडामा धान रोपाई कार्य पुरा भएको बताए ।

हालसम्म बर्षा नभएको भएपनि परम्परागत कुलोबाट र नहर निर्माण गरि सिंचाई सुबिधा पुगेको कारण रोपाई कार्य सम्पन्न गर्न सहज भएको उनले बताए । यता सबै भन्दा मार्सी धान बढी फल्ने चङ्खेली गाउँपालिका– २ को दार्म जिउलामा ९० प्रतिशत रोपाई कार्य पुरा भएको किसान रामभक्त जैसीको भनाई छ ।

गतवर्ष भन्दा केही ढिलो भएको भएपनि असार दोस्रो हप्तासम्म रोपाई सम्पन्न हुने छ । यता खार्पुनाथ गाउँपलिकामा भने रोपाई कार्य साठी प्रतिशत पुरा भएको र रोपाई जारी रहेको किसान बबरजंग हमालले बताए । पानी नपरेको कारण पालो कुरेर पानीको ब्यवस्था गर्नु परेको कारण रोपाई गर्न ढिलाई भई रहेको छ ।

जिल्लाका केही गाउँपालिकामा पचास, केहीमा साठी र केहीमा नब्बे प्रतिशत धान रोपाई कार्य पुरा भएको कारण जिल्लाभर पचासी प्रतिशत रोपाई पुरा भएको र बाँकी रोपाई कार्य पनि जारी रहेको कृषि बिकास कार्यालयका प्रमुख चुणमणी पन्तले बताए ।

खडेरीको कारण गतवर्ष भन्दा रोपाई कार्यमा केही ढिलाई भएको बताउदै उनले सिंचाई सुविधा पुगेको भएपनि पानीको श्रोत कम हुँदा रोपाईमा पनि ढिलो भई रहेको बताए । यस आवमा ५८५ हेक्टर जमिनमा धान रोपाई हुने र प्रति हेक्टर एक दशमलव १३० मेट्रिकटन उत्पादन हुने अनुमान कार्यालयले गरेको छ ।

हुम्लामा प्रतिहेक्टर एक दशमलव ९१ उत्पादकत्व रहेको छ । हुम्लाका सात वटा गाउँपालिका मध्य नाम्खा गाउँपालिका बाहेक सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा धान पाक्ने गर्छ । जिल्लामा चङ्खेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकामा बढी धान उत्पादन हुने गर्छ । यी गाउँपालिकामा धान खेती मुख्य वालीमा पर्छ ।