लोग भण्डारी
सिमकोट । दुर्गमको गाउँका घरघरमा धारा र शौचालय निर्माण गरिएपछि स्थानीय खुसी हुनु भएको छ । हालसम्म खोलाको पानी प्रयोग गर्नु र खुल्ला स्थानमा शौच गर्दै आउनु भएका स्थानीयको घर आगनमै पानीको धारा र शौचालय निर्माण गरिएपछि स्थानीय खुसी भएका हुन ।
खाार्पुनाथ गाउँपालिका– ५ को ताक्ला गाउँका धने बोहराले दुर्गमको बस्तीमा एक साथ घरघरमा धारा र शौचालय निर्माण गरिएपछि निक्कै परिबर्तनको महशुस भएको बताए । यसअघि खोलाको पानी प्रयोग गर्नु पर्ने र शौचालय समेत नभएकोले खुल्ला स्थानमा गएर दिसापिसा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउदै उनले नजिकको सरकार भएको महशुस भई रहेको बताए ।
खानेपानी र शौचालय निर्माण कार्य सुरु हुँदा पत्यार नलागेको बताउने उनले गरेपछि हुन्छ भन्ने मान्यताको पुष्टि भएको बताए । त्यसैगरि ताक्ला गाउँ कै अर्का स्थानीय बसन्त कामीले स्वच्छ र सफा पानी प्रयोग गर्नु पाउनुका साथै दिसापिसाव गर्न पनि सहज मात्र नभई घरआगन समेत सफा भएको बताए ।
पहिलो दिन धारामा पानी खसेपछि फरक र नौलो अनुभूति भएको बताउने भण्डारीले सहयोगी निकायलाई धन्यवाद दिए । उक्त गाउँपालिकाको दुर्गम बस्तीका रुपमा परिचित ताक्लाबाम्टा गाउँ सडक सञ्जाल र बिधुत पनि नजाोडिएको अवस्थामा खानेपानी र शौचालय निर्माणले अन्य बिकास पनि अब चाँडै हुने बिस्वास उनले ब्यक्त गरे ।
घरआगनमै टाक्लाबाम्टा गाउँका सबै घरमा नयाँ धारा जडान गरिएको र यसबाट सरसफाइयुक्त स्वच्छ पानी सहजै उपलब्ध हुन सुरु भएको वडा अध्यक्ष भरतजंग शाहीले बताए । त्यसैगरि सफा र सुरक्षित शौचालयको निर्माण र हरेक घरमा सेफ्टी ट्याङ्कसहितको शौचालय निर्माण भएको कारण वातावरणमैत्री र प्रयोग गर्न सुरक्षित रहेको उनको भनाई छ ।
यी दुवै गाउँका ५२ घरधुरीका घरघरमा धारा र शौचालय निर्माण गरिएको छ । निर्माण गरिएका धाराहरु बालबालिका र वृद्धहरू मैत्री रहेका छ्न् । टाक्लाबाम्टामा बनाईएका शौचालय तथा धाराको संरचनाहरू सबै उमेर समूहको पहुँचमा रहेको छ । टाक्ला गाउँका प्राय सबै घरमा नयाँ धारा जडान गरिएको छ । त्यसैगरि सार्वजनिक धारा पनि निर्माण गरिएको छ । यी धारा र शौचालयको निर्माणपछि गाउँको मुहार नै परिबर्तन देखिन थालेको छ । यसका लागि खानेपानी तथा सरसफाई सवच्छता परियोजना ( सुस्सा ) र गाउँँपालिकाको मिलान कोषमा यो कार्य भएको हो ।























