खोल्सी गाउँका सबै गर्भवती सुरक्षित सुत्केरीको पहुँचमा

फोटो क्याप्सन खोल्सीको सामुदायीक स्वास्थ्य इकाई । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । अघिल्लो वर्षसम्म घरघरमा सुत्केरी हुने सिमकोट गाउँपालिका– ८ को खोल्सी गाउँका गर्भवती महिलाहरु सुरक्षित सुत्केरीको पहुँचमा रहनु भएको छ । खोल्सी सामुदायीक स्वास्थ्य इकाईलाई गाउँपालिकाको स्वास्थ्य शाखाको पहलमा प्रसुती गृहको सेवा बिस्तार भएपछि गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउन सहज भएको हो ।

उक्त गाउँका स्थानीय भै बहादुर शाहीले अघिल्लो वर्षसम्म घर घर मै सुत्केरी हुने गर्भवती महिलाहरु यस वर्षबाट प्रसुती गृहमा पुगेर सुरक्षित सुत्केरी गराउन सफल भएको बताए । यसअघि वडाको स्याँडा स्वास्थ्य चौकीमा रहेको प्रसुती गृहमा गर्भवती महिलाहरु ब्यथा लागे पनि भुतप्रेतको डरले जानै नमान्ने गरेको बताउदै गाउँ कै स्वास्थ्य संस्थाको यो सुबिधा भएपछि सहज भएको उनले बताए ।

त्यसैगरि छिमेकी वडा नम्बर ७ को चौगानफया आधारभूत स्वास्थ्य केन्द्रले प्रदान गर्दै आएको सुरक्षित सुत्केरी गराउने सुविधा पनि लिनै नमान्ने भएपछि गाउँमा जति जना गर्भवती भएपनि परम्परागत सुडेनीबाटै सुत्केरी गराउने गरिएको थियो । यसले गर्दा एक वर्ष अगाडीसम्म गाउँका सबै गर्भवती महिलाहरु सुत्केरी भएपनि सरकारले उपलब्ध गराउने सुबिधाबाट बञ्चित हुदै आएका थिए ।

खोल्सी गाउँमा असी घरधुरी रहेका छन । उनले त्यति बेला वर्षमा कम्तीमा पनि बीसदेखि पच्चीस जना महिला गर्भवती हुने र सबै घर मै सुत्केरी हुने गरेको बताए । यसले गर्दा नबजात शिशु पनि वर्षमा सात आठ जनाको मृत्यु हुने गरेको थियोे । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले निक्कै लामो प्रयासपछि खोल्सी गाउँका गर्भवती महिलाहरुलाई संस्थागत सुत्केरी गराउन सफल भएको बताए ।

घर मै सुत्केरी हुदै खोल्सीका गर्भवती महिला भन्ने कुरा बाहिर आएपछि आफ्नो नेतृत्वमा उक्त गाउँमा पुग्दा कोही पनि गाउँका स्थानीयले स्याँडा र चौगानफयाको प्रसुती गृहमा सुत्केरी गराउन जान नमानेको अवस्थालाई सम्झदै अहिले सबै गाउँका गर्भवती महिलाहरु संस्थागत सुत्केरी गराउन थालेपछि खुसी लागेको बताए ।

गाउँ कै स्वास्थ्य संस्थामा प्रसुती गृह स्थापना गर्नका लागि गर्भवती महिला र स्थानीयले माग गरेको र त्यसका लागि दुई वर्ष समय लागेको बताउदै यो सुबिधा उपलब्ध गराउन कार्यपालिकालाई गुहार्नु परेको उनले बताए ।

यसवर्ष गाउँका सोह्र जना गर्भवतीले प्रसुती गृह मै आएर सुत्केरी गराएको बताउदै उनले सामाजिक मान्यताको कारण अघिल्लो वर्षसम्म गर्भवतीले पहिले टाढाको प्रसुती गृहमा जान नमानेको बताए । अब सुत्केरीले पाउने सुबिधा पनि पाउन थाल्नु भएको छ । यस कार्यका लागि आधार बिकास नेपालले पनि सहयोग गर्दै आएको छ ।