चट्टानी पहरामा फलामे भर्याङ

फोटो क्याप्सन दोजामको चट्टानी पहरामा निर्माण गरिएको भर्याङमा चढ्दै वडा अध्यक्ष लामा । तस्बिर ः सि.टा.

लोग भण्डारी
सिमकोट । सिमकोट गाउँपालिका– १ को दोजामको पृष्ठभूमिमा पर्ने चट्टानी पहरामा फलामे भर्याङ निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको प्रर्बद्धन गर्न र सो गाउँमा आउने पर्यटकहरुलाई पहराको अवलोकन गराउन सो भर्याङ निर्माण गरिएको हो ।

यसै आर्थिक वर्षको केही दिन अगाडी मात्र निक्कै अग्लो चट्टानी पहरामा फलामे भर्याङको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको सिमकोट गाउँपालिका– १ का वडा अध्यक्ष गोर्ख लामाले बताए । दोजाम गाउँबाट सिधा माथि हेर्दा निक्कै रमाईलो लाग्ने सो चट्टानी पहराको माथिबाट तलको दृश्य हेर्नका लागि यो भर्याङ निर्माण गरिएको छ ।

दोजाम क्षेत्र आफैमा पर्यटकीय क्षेत्र हो । यस क्षेत्रको पर्यटन प्रर्बद्धनमा यो भर्याङले महत्वपुर्ण योगदान पुर्याउने बिस्वास उनले ब्यक्त गरे । यो क्षेत्र भएर वर्षेनी एक सय भन्दा बढी बाह्र पर्यटकहरु चँवाखोला हुँदै चाङ्ला हिमाल अवलोकन गर्न जाने गर्छन । बाह्य पर्यटकहरुको सुझावलाई पनि ध्यानमा राखेर यो कार्य गरिएको वडा अध्यक्ष लामाले बताए ।

स्थानीय श्यामजोर लामाले पर्यटकीय क्षेत्र दोजाम गाउँको पृष्ठभूमिमा निर्माण भएको पहराको भर्याङले आन्तरिक तथा बाह्र पर्यटकहरुलाई तान्ने बिस्वास ब्यक्त गरे । तेत्तीस मिटर अग्लो भर्याङमा ९७ सिढीहरु निर्माण रहेका छन । भर्याङलाई सम्पुर्ण रुपमा फलाम प्रयोग गरिएको छ ।

यसका लागि स्थानीय उपभोक्ता समितिले २७ दिनमा दक्ष कामदारद्धारा काम सम्पन्न गर्नु भएको थियो । डिभिजन बन कार्यालयको आर्थिक सहयोगमा तीन लाख पच्चीस हजार लागत लागेको हो । पर्यटकीय स्थलहरुको बिकास र प्रर्बद्धन गर्न यो काम गरिएको डिभिजन बन कार्यालयले जनाएको छ । उक्त भर्याङ निर्माण गरिएको पहरा नजिकै ढुङ्गा माथि मन्दिर पनि निर्माण गरिएको छ ।