सि.टा. समाचारदाता
सिमकोट । चालु आर्थिक वर्षमा दश वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्यालयमा भवनको अभाव भई पढाईमा समस्या भएको बेला नयाँ भवन निर्माण कार्यले विद्यालयहरुको उक्त समस्या समाधान भएको हो ।
यो आर्थिक वर्षमा दश वटा विद्यालयमा भवन निर्माण गर्ने कार्य सम्पन्न भएर हस्तान्तरण गर्ने कार्य भएको सामाजिक बिकास कार्यालयका सवईन्जिनीयर धर्मराज बोहराले बताए । कार्यालयले निर्माण गरेका अन्य विद्यालय भवनहरुमा सर्केगार्ड गाउँपालिका– ७ को सुर्यतारा आवि र सुर्यज्योति आवि, सर्केगार्ड गाउँपालिका– ४ को दुल्ली आवि, सर्केगार्ड गाउँपालिका – ६ को जनजागरण प्रावि, चङ्खेली गाउँपालिका– २ को ज्ञानज्योति, ताँजाकोट– ४ को बुद्धि बिकास, अदानचुली– १ को मण्डाल्ली आवि र सर्केगार्ड गाउँपालिका– १ को देवल आवि रहेका छन् ।
यी भवनहरुमा २२ वटा नयाँ कोठा निर्माण भएको र कोठामा फर्निचरको समेत ब्यवस्था गरिएको उनले बताए । यी भवनहरु उपभोक्ता समिति मार्फत निर्माण कार्य सम्पन्न गरेर सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरिएका हुन ।
त्यसैगरि जिल्लाभरका एघार वटा विद्यालयमा घेरवार गरिएको छ भने दुई वटा विद्यालयमा छात्रवास र एउटा विद्यालयमा पुस्तकालय भवन निर्माण गरिएको उनको भनाई छ । घेरवार कार्यले विद्यालयलाई सुरक्षित राख्ने कार्य गरेको छ । यी योजनाका लागि कुल आठ करोड पन्चानब्बे लाख बजेट खर्च गरिएकोे ।




















