सि.टा. समाचारदाता
हुम्ला । हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको तील गाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गर्नु भएको छ । हिम पहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै तील गाउँवासी सो निर्णयमा पुग्नु भएको हो ।
लिमीको तील गाउँमा हाल सुरक्षित स्थानमा पाल टाँगेर बस्दै आउनु भएका छिरिङ छिमेल तामाङले हिमपहिरो पीडित सबै गाउँ छोडेर जाने निर्णय गरेको बताए । गाउँमा रहनु भएका ४५ जनाको उपस्थितीमा बसेको तीलवासीको बैठकले असुरक्षित भएको महशुस गर्दै अब गाउँ छाडेर काठमाडौं जाने निर्णय भएको उनले बताए ।
जहिले पनि तील गाउँ हिमपहिरो र पहिरोको उच्च जोखिममा रहेको स्थानीयले निष्कर्ष निकालेको र आउने कात्तिक मङ्सिर महिनापछि गाउँ नै छोडेर जाने निर्णय गरिएको छ । अर्का स्थानीय छिरिङबा लामाले डर र त्रासले गर्दा आफुहरुलाई गाउँ छोड्ने निर्णय गर्न बाध्य भएको बताए ।
हिमपहिरो जाँदाको रात सम्झदै उनले त्यो दिन कसरी बाँचिए छ भन्ने लाग्न थालेको बताए । घरका सदस्य मध्य तीन जना हाल काठमाडौँमा बस्दै आएको जानकारी दिनुहुँदै जसरी पनि गाउँ छोडेर काठमाडौं आउन आग्रह गरेको लामाले बताए । घरमा ताला लगाएर जग्गा बाँजो राख्ने भए पनि भएका पशुवस्तु भने कसरी व्यवस्थापना गर्ने भन्ने चिन्ता भने रहेको उनको भनाइको छ ।
त्यसैगरी लिमीको वडा अध्यक्ष पाल्जोर तामाङले गाउँ छोड्न नमान्ने तील गाउँका केही घरधुरीहरु पनि गत जेठमा खसेको हिमपहिरोको डरले अब गाउँ छोडेर जाने निर्णय गर्न बाध्य भएकोे जानकारी दिए । तील गाउँवासीको यो तयारीबारे बुझेपछि निक्कै सम्झाउन खोजे पनि उहाँहरु गाउँ छोड्ने अन्तिम निर्णय गरि सकेको कारण रोक्न नसकिने उनले बताए । लिमीमा गाउँको साझा निर्णय सरकारी नियम जस्तै मान्दै आएका छन ।
तील गाउँ खाली हुने निश्चित भएपछि वडाले प्रयास गर्दा नमानेको र अब गाउँपालिका र प्रदेशले केही सुरक्षित महशुस हुने खालको योजना ल्याए रोक्न सकिन्छ कि भन्ने लाग्न थालेको उनले बताए ।
तील गाउँमा हाल २३ घरधुरी रहेका छन । गत जेठ १ गते हिमतालको पानी चुहिएर पहिरो जाँदा गाउँ जोखिममा परेपछि हाल तील गाउँका स्थानीय गाउँपारीको सुरक्षित चौरमा बास बस्दै आएका छन । बिहान घरमा आउने काम गर्ने तर बेलुका भने पालमा गएर सुत्नु परि रहेको छ ।












