एक वर्षमा दुई वटा बेलिब्रीज निर्माण हुँदा हुम्लाको सडक यातायात सहज

फोटो क्याप्सन लोती कर्णालीमा भरखरै निर्माण कार्य सम्पन्न् भएको बेलिब्रीज । तस्बिर ः सि.टा.

लोग भण्डारी
सिमकोट । आर्थिक वर्ष ०८१।०८२ मा हुम्ला जिल्लामा दुई वटा नयाँ बेलिब्रीज निर्माण भएर प्रयोगमा आउदा हुम्ला जिल्लाको सडक यातायात सहज भएको छ । हुम्ला जिल्लालाई कर्णाली करिडोर र मुगु जिल्लाबाट चंखेली सलीसल्लासम्म सडक सञ्जाल जोड्न यी दुवै बेलिब्रज छोटो अवधिमा निर्माण गरिएका हुन ।

असार मसान्तमा चङ्खेली गाउँपालिका– २ र ४ को सिमानामा रहेको लोती कर्णालीमा ४२ मिटर लम्बाईको बेलिब्रीज निर्माण गरिएको पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए । यो बेलिब्रीज निर्माण भएसंगै मुगु जिल्ला पनि औपचारिक रुपमा हुम्लासंग सडक सञ्जाल जोडिएको छ ।

यसअघि लोती कर्णाली वारी र पारीपट्टी सडक निर्माण गरिएको भएपनि पुल निर्माण नभएको कारण सडक जोडिएको थिएन । त्यसैगरि गत असार १० गते सदरमुकाम सिमकोटलाई औपचारिक राष्ट्रिय सडक सञ्जालसंग जोड्न खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजम कर्णाली नदीमा नेपाली सेनाले ५२ मिटर लामो बेलिब्रीज निर्माण गरेको थियो ।

सो पुलका असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सञ्चालनमा आएको थियो । यसवाट कर्णाली करिडोरको हुम्ला खण्डमा छ वटा बेलिब्रीजहरु २०७८ सालयता निर्माण भएका छन् । २०८० सालमा सलीसल्लाको कर्णाली नदीमा पनि बेलिब्रीजको निर्माण कार्य भएको थियो ।

त्यसैगरि २०७८ सालमा कवाडी र गल्फागार्डमा पनि बेलिब्रीजको निर्माण कार्य भएको थियो । यता करिडोर कै सिमकोट हिल्सा सडक खण्डको तुम्कोट र हिल्सामा पनि बेलिब्रीजको निर्माण कार्य भएको थियो । अब तत्काल जिल्लामा सडक सञ्जाल जोड्नका लागि छ वटा बेलिब्रीजहरु निर्माण भएका छन ।