सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट औपचारिक र सिधा राष्ट्रिय सडक सञ्जालसंग जोडिएपछि नेपाल र चीनको सिमाना हिल्सा नाकाबाट यस वर्ष सामान आयातमा कमी आएको छ ।
जिल्ला पुर्ण रुपमा राष्ट्रिय सडक सञ्जालसंग जोडिएको कारण बिकास निर्माण तथा अन्य ब्यापारी प्रयोजनका सामानहरु नेपालबाटै सस्ताको आई पुग्ने भएपनि ब्यापारी तथा निर्माण ब्यवसायीले आयातमा धेरै कमी आएको हो ।
यसवर्ष हिल्सामा चीनको ताक्लाकोटबाट चिनीयाँ सामान आयातमा कमी आएको यारी नाका भान्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । गतवर्षको तुलनामा यसवर्ष पचहत्तर प्रतिशतले सामान आयातमा कमी आई रहेको उनले बताए । सामान आयातमा कमी आएकै कारण नयाँ आर्थिक वर्षको साउन १ बाट १४ गतेसम्म जम्मा चालीस हजार राजस्व असुली भएको उनले बताए ।
जव कि गतवर्ष यो अबधीमा साँढे तीन लाख रुपियाँ राजस्व असुली भएको थियो । मुख्यगरि हुम्ला जिल्ला असार २२ गतेबाट राष्ट्रिय सडक सञ्जालसंग जोडिएको कारण बिकास निर्माणका सामानहरु ताक्लाकोटबाट आयात हुने निक्कै कमी आएको उनको भनाई छ ।
बिकास निर्माण सामाग्री मात्र नभएर गतवर्षको तुलनामा यसवर्ष खाद्यान्न, लत्तकपडा र अन्य पेयपदार्थको पनि आयातमा कमी आई रहेको छ । यसवर्ष महङ्गी कै कारण चीनबाट सामान ढुवानी कर्मी भएको पानस निर्माण सेवाका सरोज रावतले बताए । ताक्लाकोटमा सिमेन्ट प्रतिबोरा एक हजार पचास रुपियाँ पर्ने, त्यसमा ढुवानी, भन्सार जोड्दा नेपालबाट भन्दा बढी मुल्य पर्ने भएपछि स्वभाविक रुपमा निर्माण ब्यवसायीले सामान ल्याउन छोडेका हुन ।
त्यसैगरि सरिया सरियाको प्रतिकेजी नब्बेदेखि चौरानव्वै रुपियाँसम्म ताक्लकोटमा पर्ने गर्छ । अझै सिमकोट गाउँपालिकाका केही नाम्खा गाउँपालिकामा काम गर्ने निर्माण ब्यवसायीले भने केही बिकास निर्माणका साधानहरु हिल्साबाट आयात गरेर ल्याउने गर्छन ।
मुख्यगरि जिल्ला सडक सञ्जालसंग जोडिएको कारण हिल्साबाट चिनीयाँ सामान आयातमा कमी भने आएको हो । ब्यापारी प्रयोजनका लागि निर्माण सामाग्री ल्याउदा पनि मुल्य बढी पर्ने भएको कारण ताक्लाकोटबाट खरिद गरेर आयात गर्न सक्ने अवस्था नरहेको भनाई ब्यापारीहरुको रहेको छ ।




















