सि.टा. समाचारदाता
सिमकोट । यस शैक्षिक सत्रबाट टुरिष्ट बिधार्थी भर्ना गर्ने जो कोही विद्यालय भएपनि कारवाहीमा पर्ने भएका छन् । वर्षेनी रुपमा एसईई नतिजा राम्रो ल्याउन शहरमा अध्ययन गर्ने तर गाउँका विद्यालयमा भर्नाको नाम देखाएर सो परिक्षा दिने गरेको गुनासो आउन थाल्यापछि यो कार्य नगर्न केही कडाईका साथ कारवाही गर्न लागिएको छ ।
माध्यामिक शिक्षा परिक्षा (एसईई ) दिने उद्धेश्यले भर्ना गर्न आउने टुरिष्ट बिधार्थीहरुलाई भर्ना नगर्न शिक्षा बिकास तथा समन्वय इकाई हुम्लाले जिल्लाका सबै माविलाई पत्राचार गरेको छ । शहरमा अध्यययन गर्ने तर एसईई दुर्गमका विद्यालयबाट दिएर राम्रो जिपिए ल्याउने प्रबृति वर्षेनी बढ्दै गएको भन्दै त्यसलाई रोक्न इकाईले यो परिपत्र गरेको हो ।
दुर्गमका माध्यामिक विद्यालयमा अध्ययन गरेको कागजात मिलाएर एसईई परिक्षा दिने प्रबृति बढ्दै गएको गुनासो बारम्बार आई रहेकोले इकाईले बाध्य भएर यो परिपत्र गरेको इकाई प्रमुख योगेश आलेमगरले बताए । यसो गर्नुमा दुई वटा मुख्य उद्धेश्य रहेको देखिन्छ ।
पहिलोमा शैक्षिक गुणस्तर भन्दा पनि एसईईको नतिजा आफ्नो विद्यालय राम्रो ल्याउनका लागि विद्यालयले नै यस्ता शहरमा अध्ययन गर्ने तर परिक्षा दिन मात्र विद्यालयमा ल्याउने काम गर्ने गरेको छन भने अर्को कुरा दुर्गमका सामुदायीक विद्यालयमा परिक्षा दिदा राम्रो जिपिए आउने र त्यसबाट छात्रबृति देखि अन्य राज्यवाट पाउने शैक्षिक क्षेत्रका सुविधा पाउन सहज हुने भएको कारण अभिभावक आफैले यो बुद्धि निकाल्ने गरेको देखिन आएको छ ।
यो प्रबृति अन्त्य गर्नका लागि इकाईले जिल्लाभर परिपत्र गरेर यस्ता टुरिष्ट बिधार्थी भर्ना नगर्न विद्यालयलाई चेतावनी समेत दिएको छ । यसरी गरिएको कार्यले शिक्षा प्रर्णालीमा बिकृती ल्याउनुका साथै ग्रामीण विद्यालयको बास्तविक अवस्था र सिकाई उपलब्धी छायाँमा पर्ने अवस्था देखिएको छ ।
यस्तो अभ्यासले स्थानीय बिधार्थीहरुको सिकाईमा नकरात्मक प्रभाव पर्नुका साथै पेशागत र संस्थागत पारदर्सीता, उत्तरदायित्व, जवाफादेहिता र मुल्याङ्कनमा समस्या निम्त्याउने हुँदा यस्ता कार्य जिल्लाका कुनै पनि माध्यामिक विद्यालय नगर्न र नगराउन निर्देशन परिपत्रमा दिइृएको छ ।
२०८२ सालदेखि जिल्लाका कुनै पनि विद्यालयहरुले टुरिष्ट बिधार्थी भनाृ गरि बिधार्थीहरुलाई अन्यत्रबाट ल्याई परिक्षामा सहभागी नगराउन र विद्यालयमा अध्ययन गरि रहेका वास्तबिक बिधार्थीहरुलाई मात्र परिक्षामा सहभागी गराउनु पर्ने छ । यदी यस्तो कार्य नभई टुरिष्ट बिधार्थीले परिक्षामा सहभागिता गराईएको जानकारी वा सुचना आए प्रचलित ऐन, नियम, कानून र निर्देशिका अनुसार रजिष्ट्रेशन फाराम र परिक्षा समेत रद्ध गरि आवश्यक कारवाही गरिने छ ।
यसबाट जिल्ला मै मिहेनेत गरेर अध्ययन गरेका बिधार्थीहरुको बास्तविक अवस्था थाहा हुने र फाईदा पनि तिनै बिधार्थी लिन पाउने बताउदै अदानचुली गाउँपालिका– ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताए । राम्रो पढाई हुने बिस्वासमा अध्ययन गर्न शहर लिने तर राम्रो नतिजा ल्याएको देख्न गाउँका विद्यालयमा ल्याउने बिधार्थी, अभिभावक र स्वयम विद्यालयलाई पनि कडा कारवाही गर्नु पर्ने उनको माग छ ।
हुम्ला जिल्लामा २७ वटा माध्यामिक विद्यालयहरु रहेका छन र हरेक वर्ष एक हजार एक सय भन्दा बढी बिधार्थीहरुले एसईई परिक्षामा सहभागिता जनाउने गर्दै आएका छन । यो समस्या सदरमुकाम भन्दा पनि ग्रामीण क्षेत्रका विद्यालयमा देखिने गरेको बताउदै उनले अब सबै सरोकारवाला पक्ष चनाखो हुनु पर्ने बताए । गत दुई वर्ष लगातार एसईइको नतिजा राम्रो ल्याएका बिधार्थीहरु शहरमा अध्ययन गरेर गाउँका माविबाट परिक्षा दिएको गुनासो आएको छ ।























