सि.टा. समाचारदाता
सिमकोट । सरकारले सन् २०३० सम्म पूर्ण स्तनपान गर्नेको सङ्ख्या बढाएर ९० प्रतिशतसम्म पु¥याउने लक्ष्य लिएको छ । तर सरकारी तथ्याङ्कले नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै गएको देखाएको छ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस)२०२२ को तथ्याङ्कले नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत रहेको देखाएको छ । यो सङ्ख्या सन् २०१६ मा ६६, सन् २०११ मा ७० प्रतिशत थियो । स्तनपानको फाइदाको बारेमा जानकार नहुँदा स्तनपान गराउने सङ्ख्या घट्दै गएको बालरोग विशेषज्ञको भनाइ छ ।
स्तनपानसम्बन्धी जनचेतनाको अभाव र पछिल्लो समय कामकाजी महिलाको सङ्ख्या बढ्दै गएकोले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको हुन सक्छ । स्तनपानलाई सरल सहज र सम्मानजनक बनाउन सकेमात्र स्तनपान गराउनेको सङ्ख्या बढाउन सकिने छ ।
स्तनपन गराउने आमामा मानसिक तनाव, परिवार र सामाजिक दबाबले गर्दा स्तनपान प्रकियामा कठिनाइ आएको छ। नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढाउन मातृत्वमैत्री कार्यक्षेत्र जरुरत रहेको देखिन्छ । स्तनपान गराउने आमालाई सबैको साथ सहयोगको जरुरत पर्छ । आमालाई समयमा खाना, आराम र सहयोग उपलब्ध गराउनुपर्छ । कार्यलयमा पनि स्तनपान गराउने वातवरण सिर्जना गर्नुपर्छ । ”
के हो पूर्ण स्तनपान भनेको ?
शिशु जन्मिएदेखि ६ महिनासम्म स्तनपान गराउनुलाई पूर्ण स्तनपान भनिन्छ । बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दुध बाहेक अरू कुनै पनि खान आवश्यक नपर्ने चिकित्सक बताउँछन् ।
बच्चालाई छ महिना पूरा भएपछि अन्य पोषिलो खानेकुराका साथै दुई वर्ष वा सोभन्दा बढी उमेरसम्म लगातार स्तनपान गराउन चिकित्सकको सुझाव छ ।
आमाको दुधमा पानी र खनिज जस्ता तत्वहरू पाइने हुँदा शिशुको शारीरिक, मानसिक विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने वरिष्ठ बालरोग विशेषज्ञले बताएका छन । शिशुका लागि आमाको दुध कम खर्चिलो र पोसिलो खानेकुरा हो ।
स्तनपान गराउँदा आमासँगको आत्मीयता बढ्नुका साथै शिशुको मानसिक, बौद्धिक, शारीरिक विकास हुने गर्छ । गाईभैँसीको दुधमा बालबालिकालाई चाहिने पोषण तत्व बढी हुने हुँदा पेट दुख्ने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने छ । बच्चालाई चाहिने आवश्यक सम्पूर्ण पोषण तत्व आमाको दुधमा पाइन्छ । गाई भैँसीको दुधमा पाइने पोषण कुनैमा आवश्यकभन्दा बढी र कुनैमा आवश्यकभन्दा कम हुने गर्छ ।
स्तनपानका फाइदा
बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउन आग्रह उपपयुक्त हुन्छ । आमाको दुध शिशुका लागि अमृतसमान हुन्छ । यसले शिशुको जीवन रक्षा गर्छ। बिगौती दुधले शिशुको रोगसँग लड्नसक्ने क्षमतालाई बढाउन मद्दत गर्छ । ”
आमाको बिगौती दुधले खोपको काम गर्ने गछं । भर्खर जन्मिएका शिशुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । स्तनपान गराउँदा दुधको माध्यमबाट आमाको शरीरमा बनेको एन्टीबडी बच्चाको शरीरमा जाने हुँदा बिगौती दुधले खोपको काम गर्छ ।
स्तनपान गराउँदा आमालाई पनि फाइदा
स्तनपान गराउनु आमा र बच्चा दुवैका लागि फाइदाजनक हुन्छ । स्तनपान गराउँदा बच्चा र आमाको सम्बन्ध सुमधुर हुने गर्छ । शिशु जन्मनसाथ दुध चुसाउँदा साल छिटै बाहिर निस्कन्ने गर्छ । स्तनपान गराउँदा आमाको रत्तश्राव कम हुने गर्छ । शिशु दुध चुस्दा पाठेघर खुम्चिन्छ । जसले गर्दा बच्चा जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँछ ।
स्तनपान गराउनेमा स्तन र पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम गर्छ । आमामा मुटुरोग, कोलेस्टोरल लगायतका दीर्घरोग लाग्ने सम्भावना कम भएको हुन्छ । स्तनपान गराउने आमाको मानसिक स्वास्थ्य पनि राम्रो हुने गर्छ ।
दीर्घरोग लाग्ने सम्भावना कम
स्तनपानले बाल मृत्युदर पनि घटाउन मद्दत गर्छ । ६ महिनासम्म पूर्ण स्तनपान गराउँदा निमोनिया, झाडापखाला, कान, छाला, पेट तथा श्वासप्रश्वासका सङ्क्रमण रोगसँग लड्न सक्ने क्षमता बढ्ने गर्छ । पूर्ण स्तनपान गरेका बच्चा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुने गर्छन् ।
पूर्ण स्तनपान गरेका बच्चामा भविष्यमा दीर्घरोग लाग्ने सम्भावना कम हुने गर्छ । स्तनपान नगर्ने बच्चामा झाडापखाला निमोनिया हुने सम्भावना बढी हुने गर्छ ।
शिशुलाई आमाको दुध पुगे नपुगेको कसरी थाहा पाउने
सुरुवाती चरणमा शिशुलाई पाँचदेखि १० एमएलमात्र दुध भए पुग्ने गर्छ । धेरै आमाले शिशुलाई दुध पुगेन भनेर विभिन्न फमुर्ला मिल्क दिन सुरु गर्छन । शिशुलाई सुरुवाती चरणमा पाँचदेखि १० एमएल दुध भए पुग्छ । २४ घण्टामा चार पाँच पटक पिसाब गरेको छ भने दुध पुगेको मान्न सकिन्छ ।
स्तनपान गराउने आमालाई प्रशस्तमात्र पोषणयुक्त खानेकुराका साथै आरामको आवश्यक पर्ने हुँदा पोषिलो खानेकुरा खुवाउन पर्छ । स्तनपान गराउने आमालाई ज्वानोको झोलसहित थप पोसिलो खाना दाल, साग, गेडागुडी, मासु, दुध र अन्य तरल खानेकुरा बढी दिने गर्छ । यस्ता खानेकुरामा भिटामिन, मिनिरल्स र फाइबर हुनेहुँदा आमाको स्वास्थ्य राम्रोहु नुका साथै दुधको गुणस्तर बढाउन सहयोग गर्छ ।















