हिमालपारीको गाउँ लिमीमा खेती योग्य जमिन बाँझिने क्रम बढ्दै

फोटो क्याप्सन लिमीको हल्जी गाउँमा खेती गर्न छोडेपछि बाँझिएको जग्गा ।  तस्बिर : सि.टा 

सि.टा.समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका तीन वटै बस्तीमा खेती योग्य जमिन बाँझिने क्रम बढ्दै गएको छ । स्थानीयको बसाई गर्ने क्रम बढ्नु र लिमी मै बस्ने भएपनि चीनको ताक्लाकोट काम गर्न जाने क्रम बढेको कारण स्थानीयले खेती गर्न छोडेपछि जग्गा बाँझिने क्रम बढ्दै गएको हो ।

लिमीका वडा सदस्य तील गाउँका स्थानीय कुनक्याप लामाले वर्षेनी खेती योग्य जमिन बाँझिनेक्रम बढी रहेको जानकारी दिए । उहाँले केही जग्गा तील वस्तीका स्थानीयले छोडेर काठमाडौं लागेपछि बाँझिएको र केही स्थानीय चीनको ताक्लाकोट गएर काम गर्ने भएकोले गाउँको जग्गामा खेती गर्न छोडिएको कारण जग्गा बाँझिने कार्य भई रहेको बताए ।

.यसरी तील गाउँमा मात्र तीस हल जग्गा खेती गर्न छोडिएपछि बाँझिएको बताउदै यसको समाधानको उपाय आफसंग नभएको उनले बताए । त्यसैगरि जाङ् गाउँको सबै जग्गा बाँझिएको स्थानीय कुन्जोक तामाङको भनाई छ । यतिबेला उवाबाली फलेको देखिनु पर्ने जाङ गाउँको खेती योग्य जमिन सबै बाँझो भएर झारपात मात्र उम्रिएको अवस्था रहेको उनले बताए । उक्त गाउँमा मात्र सत्तरी हल भन्दा बढी खेतीयोग्य जग्गा बाँझो रहेको छ । यस पटक काठमाडौंबाट लिमी फिर्ता हुनु भएका दुई घरधुरीले खेती लगाउने समय सम्पन्न भई सकेको कारण आफ्नो जग्गामा अर्को वर्ष अगाडी खेती गर्न सक्ने अवस्था रहेको छैन् ।

यता सवै भन्दा बढी घरधुरी रहेको हल्जी गाउँमा पनि जग्गा बाँझिने क्रम बढी रहेको सो गाउँका स्थानीय कोनुर्वु तामाङले बताए । यसै वर्ष हल्जी गाउँ छोड्नु भएका दुई घरधुरी र अरु ताक्लाकोट काम गर्न जानु भएका स्थानीयको जग्गा सवै बाँझो रहेको उनले बताउदै उत्पादनले छ महिना खाना नपुग्ने भएपछि खेतीपाती छोडेर काम गर्न जानु पर्ने बाध्यता रहेको जानकारी दिए । हल्जी गाउँमा पहिलो पटक जग्गा बाँझो राखिएका हो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ लिमीको खेती योग्य जमिन बाँझो रहनु भनेको लिमी बिस्तारै मानिस बिहीनको अवस्थामा पुग्ने देखिएको छ ।

बेलैमा गाउँपालिका, प्रदेश सरकार र सङ्घ सरकारले नसोच्ने हो भने भोली लिमीमा बस्ती थियो भन्ने ईतिहाँसमा अध्ययन गर्नु पर्ने अवस्था नआउला भन्न नसकिने उनले बताए । हल्जी गाउँको मात्र पच्चीस हजार जग्गा यसवर्ष बाँझो रहेको बताउदै उनले यो समस्या समाधानको उपाय आफुसंग नभएको सुनाए । लिमीका कुनै बस्ती मात्र नभएर सिङ्गो वडाका लागि जग्गा बाँझो हुँदै जानु दुखद विषय हुने उनको भनाई रहेको छ ।