मुख्यमन्त्री कँडेल र जलश्रोत तथा उर्जा मन्त्री बुढाविच कार्यसम्पादन सम्झौता

सि.टा. समाचारदाता
हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाबीच कार्यसम्पादन सम्झौता भएको छ । आईतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाविच सो सम्झौता भएको हो ।

आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम र बजेटमा उल्लिखित उद्देश्यहरू नतिजामुखी र प्रभावकारी बनाउन सम्झौता गरिएको मन्त्री बुढाले बताईन । सम्झौतामा प्रदेशको आवधिक योजना, वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश योजनाहरूलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्ने समेत उल्लेख गरिएको छ ।

यसअघि मन्त्री बुढाले मन्त्रालयका सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरि सकेका थिए । मन्त्री बुढा उपचारका कारण साउन १ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित मन्त्रीहरूसँगको कार्यसम्पादन सम्झौता कार्यक्रममा उपस्थित हुन सकेकी थिईनन् ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित दुई अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड (७९.५४%) खर्च गरेको थियो । जसमा चालुतर्फ ६७.३६% र पुँजीगततर्फ ८०.५५% बजेट खर्च भएको थियो । यो खर्च कर्णाली प्रदेशका अन्य विकासे मन्त्रालयहरूको तुलनामा सबैभन्दा बढी हो ।