सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा नयाँ आवासीय सुविधा सहितको विद्यालय भवन निर्माण गरिएको छ । एक वर्ष अवधि लगाएर तीन वटा भवन निर्माण कार्य सम्पन्न भई हाल विद्यालय समेत सञ्चालनमा आएको हो ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीको हल्जी गाउँमा सुविधा सम्पन्न तीन वटा दुई तले सुनखानी आविको विद्यालय भवन निर्माण भएको बताए । दुई वटा भवनमा पठनपाठन हुने गरेको छ भने एउटामा भने होस्टेल सञ्चालन भएको छ । भवन पुर्ण रुपमा निर्माण भएर सचालनमा आएको छ ।
नयाँ भवन निर्माण भएसंगै पहिलेको विद्यालय भवन खाली गरिएको छ । सो भवन पहिरोको पनि जोखिममा रहेको थियो भने साना बिधार्थीहरुलाई समेत उकालो पनि चढ्नु पर्ने बाध्यता थियो । उक्त भवन अमेरिकाको आर्थिक सहयोगद्धारा सञ्चालीत आत्मीय नेपाल संस्थाले निर्माण गरेको हो । भवन निर्माणका लागि तीन करोड लागत लागेको छ ।
भवन निर्माणसंगै पठनपाठन मात्र सुरु भएको छैन विद्यालयमा अध्ययनरत ३० जना कक्षा एकदेखि सातसम्मका बिधार्थीहरुको आसावीय ब्यवस्था समेत सुरु भएको विद्यालयका शिक्षक बिकल तामाङले बताउनुभयो । बालबिकासमा अध्ययनरत बिधार्थीहरु भने साना भएको कारण पढाई पछि बेलुका घरमा जाने गर्दै आएका छन ।
यसअघि उक्त विद्यालयमा बिहानका खानाको ब्यवस्था बिधार्थीहरु र शिक्षकका लागि अभिभावकले पकाउने सहित पालो लगाएर खुवाउने ब्यवस्था गर्दै आएकोमा नयाँ भवनमा सरेपछि खाने बस्नेको ब्यवस्था पनि आत्मीय नेपाल गर्दै आएको छ । अब लिमीको सो विद्यालय पुर्ण रुपमा आवासीय भएको छ । विद्यालयलाई आवश्यक पर्ने फर्निचरको ब्यवस्था पनि उक्त संस्थाले नै निर्माण गरेको हो ।
विद्यालयमा आवासीयको ब्यवस्था मात्र आत्मीय नेपालले नगरि तीन जना शिक्षकको पनि ब्यवस्था गरेको छ । बालबिकास सहजकर्ता सहित पाँच जना शिक्षक भने सरकारी रहनु भएको छ । त्यसैगरि छात्रा छात्राका लागि छुट्टा छुट्टै शौचालयको पनि निर्माण पश्चात प्रयेगमा आएको छ भने खानेपानीको धारा समेत नयाँ निर्माण गरिएको छ ।
विद्यालयलाई आवश्यक पर्ने सवै संरचना निर्माण भई सकेपछि अब आगामी शैक्षिक सत्रबाट कक्षा आठसम्म पठनपाठन सुरु गर्ने तयारीमा विद्यालय रहेको छ भने सो विद्यालयलई भविष्यमा मावि संचालन गर्ने लक्ष्य रहेको छ । सामुदायीक विद्यालय भएपनि सबै सुबिधा पुगेको कारण दुर्गमको उक्त विद्यालय शहरका विद्यालयमा हुने सुविधा भन्दा कमी रहेको छैन । आत्मीय नेपालले पनि यो सहयोग लामै समयसम्म जारी राख्ने जनाएको छ ।
























