
सि.टा. समाचारदाता
सिमकोट । मित्र राष्ट्र चीनको बुराङ काउण्टीको ताक्लाकोटमा हुम्लाका फुरु ब्यापारीको सङख्या बढ्दै गएको छ । ताक्लाकोटमा फुरुको ब्यापार राम्रो हुने भएको कारण फाईदा देखिएपछि हुम्लाका ब्यापारीहरु बढ्दै गएका हुन ।
छ वर्षदेखि ताक्लकोटमा फुरुको ब्यापार गर्दै आउनु भएकी नाम्खा गाउँपालिका– १ हाल ताक्लाकोटमा रहनु बस्ने लामु लामाले ताक्लाकोटमा फुरु ब्यापारी बढ्दै गएको बताईन । सुरुमा पाँच जनाले फुरु ब्यापारको लागि ताक्लाकोटमा पसल सञ्चालन गर्नु भएकोमा हाल त्यो सङ्ख्या एक सय पुगेको छ । गतवर्ष सत्तरी जनाले फुरु पसल सञ्चालन गर्दै आएकोमा यसवर्ष मात्र तीस जना थपिएका हुन ।
उनले एक अर्ब भन्दा बढी लगानी गरेर हुम्लाका फुरु ब्यापारीले ताक्लकोटमा ब्यवसाय सञ्चालन गरेको बताउदै ब्यापारी धेरै हुँदा प्रतिश्प्रधा भने बढी हुने गरेको बताईन । एक जना ब्यावारीले कम्तीमा दश लाखसम्मका फुरुहरु बिक्री गर्दै आएको बताउदै उनले ब्यापारीहरु सन्तुष्टै रहेको जानकारी दिईन । अर्का फुरु ब्यापारी टेकबहादुर लामाले एउटा सामान्य फुरुको मुल्य एक सय पचासदेखि पाँच सयमा बिक्री हुने गरेको बताए ।
फुरु राम्रो भए त्यो भन्दा पनि बढीमा बिक्री हुने बताउदै ताक्लाकोटमा फुरु ब्यापारी बढ्नुमा कमाई राम्रो भएको उनले बताए । तिब्बतीयनहरुले फुरुको महत्व बढी मान्ने तर उता नपाउने भएको कारण यसको ब्यापार राम्रो हुने गरेको हो । यी फुरुमा बिशेष गरि चिया लगाएतका पेय पदार्थ पिउने गरिन्छ । ताक्लाकोटमा फुरु ब्यापार गर्ने हुम्लावासीमा सबै लामा समुदाय रहनु भएको छ । ब्यापार कै लागि अधिकाँस ब्यापारीहरु बाह्रै महिना ताक्लाकोटमा बस्दै आउनु भएको छ ।






















