लामाद्धारा भीरमा सुबिधा सम्पन्न गुम्बा निर्माण

सि.टा.समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी वस्ती भन्दा माथि सुविधा सम्पन्न गुम्वा निर्माण गरिएको छ । उक्त गुम्बाका पुजारी लामाको सहकार्य र समन्वयमा परम्परागत धर्म र साँस्कृति जोगाउनका लागि सो गुम्बा निर्माण गरिएको हो ।

लिमीको पुस्तौ पहिलेदेखिको साँस्कृति, धर्म र परम्परा जोगाउनका लागि गुम्बाका लामाको पहलमा आधुनिक र सुबिधा सम्पन्न गुम्बा निर्माण गरिएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । पुराना लिपी र संरचनाहरु जोगाई राख्न र त्यहाँ नयाँ बौद्ध धर्मका अनुयायीहरुलाई बस्ने बाताबरण निर्माणका लागि उच्च क्षेत्रको पठारमा गुम्वा निर्माण गरिएको छ ।

उक्त गुम्बा एक हजार वर्ष पुरानो रहेको र त्यहाँ भएका मुर्ती, महंङ्गा धातुको सुरक्षाका लागि पनि नयाँ र बस्नका लागि योग्य गुम्बा निर्माण गरिएको वडा अध्यक्ष तामाङले बताए । प्रदेश सरकारको सहयोगमा लिमीको हल्जी गाउँबाट कच्ची सडक निर्माण गरिएको भएपनि अन्य सबै संरचनाहरु भने लामाको प्रत्यक्ष आर्थिक सहयोग र समन्वयमा निर्माण गरिएको हो । लामाको यो कार्यबाट लिमीको साँस्कृति, परम्परा र धर्मको संरक्षणमा टेवा पुग्ने बिस्वास उनले ब्यक्त गरे । गुम्बाको निर्माण अवधिभर लामा समेत पुरानो गुम्बामा वसेर पुजापाठ गर्ने गरिएको छ ।