सि.टा. समाचारदाता
सिमकोट । दुई वर्ष अगाडीसम्म सधै खाद्यान्न अभाव हुने हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष ०८१।०८२ मा निर्धारित कोटाको खाद्यान्न बिक्री हुने क्रम घट्दै गएको छ । यो खाद्यान्न जिल्ला भित्रका एउटा शाखा, दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रबाट खाद्यान्न बिक्री गर्दा देखिएको हो ।
गत आर्थिक वर्षमा खाद्यन्न बिक्री गर्दै आएको शाखा, डिपो र बिक्री केन्द्रमा निर्धारण गरिएको कोटाको खाद्यान्न बिक्री बितरण गर्दा ६७ दशमलव ५२ प्रतिशत मात्र बिक्री भएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्ण बहादुर थापा मगरले बताए । खाद्यान्न बिक्रीको अवस्था हेर्दा शाखामा खाद्यान्न बिक्री घटी रहेको छ ।
उक्त आर्थिक वर्षमा सबै स्थानका लागि २३ हजार २१० दशमलव नौ क्वीन्टल खाद्यान्न कोटा निर्धारण गरिएकोमा १५ हजार ६७३ दशमलव ५८ क्वीन्टल मात्र असार मसान्तसम्म बिक्री भएको उहाँले बताउनुभयो । जसमा शाखाले उपलब्ध गराएको बिबरण अनुसार सिमकोट शाखाका लागि स्थलमार्ग र तिब्बती मार्ग गरि १९ हजार ९८७ दशमलव पचास क्वीन्टल खाद्यान्न कोटा निर्धारण गरिएकोमा सबै खाद्यान्न शाखामा आई पुगेको भएपनि त्यसमा बाह्र हजार ८८५ दशमलव ८३ क्वीन्टल मात्र बिक्री भएको छ भने अझै शाखाको गोदामा सात हजार १०१ दशमलव ६७ क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ ।
त्यसैगरि डिपो कार्यालय श्रीनगरका लागि एक हजार ७५१ दशमलव दश क्वीन्टल खाद्यान्न कोटा रहेकोमा त्यसमा एक हजार ३१५ दशमलव ७५ क्वीन्टल मात्र बिक्री भई हाल गोदाममा ४३५ दशमलव ३५ क्वीन्टल मौज्दात रहेको छ । त्यसैगरि डिपो कार्यालय सर्केगार्डका लागि सो आर्थिक वर्षमा ८७२ क्वीन्टल खाद्यान्न कोटा रहेकोमा सबै बिक्री भएको छ । यता बिक्री केन्द्रतर्फ याङ्चु बिक्री केन्द्रका लागि तीन सय क्वीन्टल खााद्यान्न कोटा रहेकोमा सवै बिक्री भएको छ भने तुम्च बालुकुना बिक्री केन्द्रका लगि दुई सय क्वीन्टल खाद्यान्न कोटा रहेकोमा सवै बिक्री भएको छ ।
त्यसैगरि बिक्री केन्द्र छप्रेलाका लगि एक सय क्वीन्टल खाद्यान्न रहेकोमा त्यो पनि सवै बिक्री भएको छ । यसरी निर्धारित कोटाको खाद्यान्न सबै बिक्री हुन नसक्नुमा सडक सञ्जाल जोडिएको कारण भएको जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माको भनाई छ ।
सडक जोडिएपछि निर्धारिात कोटाको खाद्यान्न सबै ढुवानी भएर आउने, उपभोक्ताहरुमा धेरै खाद्यान्न मौज्दात गर्ने बानीमा परिबर्तन आउनु र बजारमा पनि पाउने भएको कारण रहेको हे । अर्को कुरा पहिले सहजै खाद्यान्न नपाउने भएकोले भनसुन र पहुँचका भरमा खाद्यान्न निकालेर मौज्दात गर्ने बानीले पनि खाद्यान्न अभाव हुने गरेको छ ।
























