तिहारको बेला देउसी भैलो राती नौ बजेपछि खेल्न नपाईने

फोटो क्याप्सन जिल्ला प्रशासन कार्यालय हुम्लाको कार्यालय । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । जिल्लाभर तिहारके समयमा देउसी भैलो राती नौ बजेपछि खेल्न नपाईने भएको छ । सबै नागरिक बिच आपसी सहयोग, सम्मान र सामाजिक अनुशासनको पालना गर्दै पर्व मनाउँदा समाजलाई अझ गतिशिल, सभ्य र ऐक्यवद्ध बनाउनका लागि कुनै उछृङ्खल घटना नघटुन पनि स्थानीय प्रशाासनले यस्तो निर्देशन जारी गरेको हो ।

देउसी, भैलो, नाचगान जस्ता कार्यक्रमहरुमा मर्यादित एवं अनुशासित रुपमा रातको नौ बजेसम्म मात्र सञ्चालन गर्न पाईने सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताए । स्थानीय प्रशासनले एक सुचना जारी गर्दै तिहार मौलिक परम्परा, संस्कृति र प्रचलित कानूनको पालना गरी भयरहित वातावरणमा निर्धक्क भई पारस्परिक सद्भाव, एकता र मित्रता सुदृढ गर्दै हर्षोल्लास साथ सामाजिक अनुशासनको पालना गर्दै पर्व मनाउँदा समाजलाई अझ गतिशिल, सभ्य र ऐक्यवद्ध बनाउन सकिन्छ भन्ने मान्यताका साथ सम्पूर्ण जिल्लावासी तथा सम्बद्ध निकायहरुले तिहार र छठ पर्व मनाउन आग्रह गरिएको छ । त्यसैगरि तिहारमा भुईचम्पा, आतिशबाजी, प्लाष्टिकजन्य फूलमाला, पटका जस्ता बिस्फोटक पदार्थ कानूनद्वारा नियमित निर्देशित वस्तुको अवैध आयात, ओसारपसार, सञ्चय, बिक्री वितरण र प्रयोग नगर्न पनि आग्रह गरिएको छ । त्यसैगरि मैनबत्ती, दियो तथा विद्युतीय उपकरण सामग्रीहरुको प्रयोग सावधानीपूर्वकगर्न, चाडवाडको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुर्याउने कुनैपनि गतिविधी साथै मनोरञ्जनको नाममा गैरकानूनी रुपमा चिट्ठा, जुवातास, कौडा, लंगुरबुर्जा, सट्टाबाजी जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरु नगर्न आग्रह गरिएको छ । त्यसैगरि सवारी साधनको क्षमता भन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, तोकिएको भाडादर भन्दा बढी भाडा नलिन ट्राफिक नियमको पालना गर्न यात्रुलाई कुनै सहयोग आवश्यक परे वा गुनासो भएमा नजिकैको प्रहरीलाई पनि आग्रह गरिएको छ ।

सार्वजनिक स्थलमा भिडभाड, होहल्ला र हुलदङ्गा नगरी सभ्य र मर्यादित ढंगले चाडवाड मनाउन, चाडवाडको समयमा आपूर्ती, स्वास्थ्य, खानेपानी, विद्युत, टेलिकम लगायतका अत्यावश्यक सेवा सुचारु गर्ने, यसका लागि जिल्लामा उपलब्ध जनशक्ति र स्रोत साधन सम्बद्ध निकायले तयारी अवस्थामा राख्न र यदि कसैले कहिकतै उपरोक्त विपरितका कार्य गरेमा नजिकैको सुरक्षा निकाय वा प्रहरी इकाईहरुमा जानकारी गराउनु अनुरोध गरिएको छ । यस सूचना विपरितका कार्य कोही कसैबाट भए गराएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही गरिने पनि जानकारी प्रशासन कार्यालयले गरेको छ ।