सि.टा. समाचारदाताा
सिमकोट । कात्तिक १२ गतेसम्म जिल्लाका उच्च क्षेत्रहरुमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । मङ्गलबार बेलुका एक सुचना सार्वजनिक गर्दै यस्तो अवस्थामा यात्रा गर्दा जोखिम हुन सक्ने जनाउदै पर्यटक तथा सर्वसाधारहरुलाई यात्रा नगर्न अनुरोध गरिएको हो ।
जिल्लाका उच्च क्षेत्रहरुमा हिमपात भई रहेको कारण यस्तो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उच्च क्षेत्रहरुको यात्रामा ननिस्कन प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले अनुरोध गरे । जाडो समयमा हिमपात तथा वर्षातको कारण दैनिक जीवन कष्टकर हुँने हुँदा अत्यावश्यक कार्यका लागि आवागमन गर्नु परेको अवस्थामा बाहेक यात्रा नगर्दा उपयुक्त हुने प्रशासन कार्यालयबाट प्रकाशित सुचनामा उल्लेख गरिएको छ । हिमपातको अवधिभर जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाका नारा, न्यालु, लाप्चाको यात्रा नगर्न आग्रह गर्दै त्यसैगरि पञ्चमुखी, रलिङ, मारघोर, मने लेख र चङ्खेली क्षेत्रमा पनि यात्रा नगर्न सबैमा उनको अनुरोध छ ।
गर्नै पर्ने बाध्यता भए जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीको मोवाईल नम्बर ९८५८३२२०४५ र नजिकको प्रहरी चौकीसंग समन्वय गरेर मात्र गर्न पनि सबैमा आग्रह गरिएको छ । हाल उच्च क्षेत्रमा हिमपात भई रहेको छ । तीन हजार दुई सयम मिटर भन्दा तलको क्षेत्रमा हिमपात हुन सकेको नभए पनि कालो बादल भने मडारी रहेको कारणा जति बेला पनि हिमपात हुने देखिएको छ ।
यस्तो बेला कामै नपरी अन्यत्र पनि यात्रा नगर्न सुचनामा भनिएको छ । मौसम बिज्ञान बिभागको प्रक्षेपण अनुसार कात्तिक १२ गतेसम्म हिमपात तथा वर्षाको संभावना रहेको कारण हुम्ला जिल्ला पनि हिमपातको बढी संभावना रहेको छ । यो अवधिभर सबै जिल्लावासीहरुलाई सचेत रहन र सावधानी अपनाउन पनि सचेत गराईएको छ ।























