सि.टा.समाचारदाता
सिमकोट ऐतिहाँँसिक, पर्यटकीय र धार्मिकस्थलका रुपमा परिचित बाँडपल माडुको (मन्दिर ) पूनरनिर्माण कार्य सम्पन्न भएको छ । सिमकोट गाउँपालिका– ५ का स्थानीयले बिशेष देबताको रुपमा मान्दै आएको बाँडपाल माडुको जिर्ण र परम्परागत भवनको पूनरःनिर्माण कार्य गरिएको हो ।
जिल्लाभर प्रख्यात देवताको रुपमा चिनीदै आएको बाँडपाल देवताको माडू पूनरनिर्माण गर्ने कार्य सम्पन्न भएको उक्त देवताका झाँक्री तुलसिंह रावतले बताए । धेरै अगाडी ढुङ्गा र माटोले छापेको माडुलाई तीस वर्ष अगाडी जस्तापाताले छापेको भएपनि जिर्ण अवस्थामा पुगेकोले यसको पूनरनिर्माणका लागि आवाज उठाई रहेको बेला यो काम पुरा भएको हो । ऐतिहाँसिक पक्षसंग जोडिएका मुर्तीहरु उक्त माडुमा रहेका छन् ।
त्यसको संरक्षण र प्रर्बद्धनका लागि पनि पूनरःनिर्माण आबश्यक रहेको छ । यो माडु निर्माण कार्य सिमकोट खार्पु ( मानसरोवर कैलाश प्रवेशद्धार ) एकिकृत पुर्वाधार बिकास कार्यक्रमबाट निर्माण कार्य सम्पन्न भएको पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए । एउटा हल जहाँ धामीहरु नाच्ने स्थान निर्माण गरिएको छ भने र अर्को पुजारी बस्ने, पुजा गर्ने र महत्वपुर्ण मुर्तीहरु राख्ने घर निर्माण गरिएको छ ।
त्योसंगै माडुको अगाडी धामीहरु नाच्ने स्थान पनि निर्माण गरिएको छ । आरसिसि पिलर भएको उक्त माडु साँढे एक महिनामा निर्माण गरिएको किराँतेश्वर निर्माण कम्पनीका स्थानीय प्रतिनिधि बिजय लामाले बताए । माडुको भित्र प्लष्टर नभएपनि आफ्नो ब्यक्तिगत लगानीमा सो कार्य सम्पन्न गरेको उनले बताए । उक्त माडुमा जनै पुर्णिमा ( साउने पुर्णिमा ) धुमधामका साथ मनाउने गरिन्छ भने अन्य तीन वटा पुर्णिमामा पनि धामी नाच्ने पुजाआजा गर्ने गरिन्छ ।























