सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन लागेको संसदीय निर्बाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदान स्थल तथा मतदान केन्द्र थपका लागि जिल्ला स्तरीय समितिले माग गरेको छ । मतादाता सङ्ख्या बढी र तीन घण्टासम्म हिडेर मतदात गर्नुपर्ने भएपछि समितिले मतदान स्थल तथ मतदान केन्द्र थपका लागि जिल्लाबाट सिफारिस गर्ने निर्णय गरिएको हो ।
दुई वटा मतदान स्थल थपका लागि हुम्लामा वसेको जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यबिधि २०८१ समितिको बैठक निर्बाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो । मतदाता सङ्ख्या बढी र मतदान स्थलसम्म पुग्न तीन घण्टासम्म पैदल हिड्नु पर्ने भएपछि जिल्लाबाट ती मतदान स्थल थप गर्नका लागि आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।
हाल कायम रहेका मतदान स्थल बाहेक थप गर्नका लागि सिफारिस गरिएका मतदान स्थलहरुमा चङ्खेली गाउँपालिका– २ को महादेव मावि दार्म मतदान केन्द्रबाट छुट्याएर देबकोटा बाडा र भट्टेबाडाका मतदाताका लागि महाकति लक्ष्मी आवि नयाँ मतदान स्थल कायम गर्न सिफारिस गरिएको छ भने नाम्खा गाउँपालिका– १ को ताङ्गिन गाउँका मतदाताहरुका लागि नमोडाछेमु आविलाई नयाँ मतदान स्थलका रुपमा कामय गर्न आयोगलाई सिफारिस गरिएको छ ।
यसअघि उक्त गाउँका मतदाताहरुले बुद्ध आवि हेक्पा मतदान केन्द्रमा मतदान गर्नै आउनु भएको थियो । त्यसैगरि जिल्ला भरका मतदान केन्द्रहरुमा एक हजार भन्दा बढी मतदाता भएका मतदान केन्द्रहरुमा मतदान केन्द्र क र ख निर्धारण गर्न पनि समितिको बैठकले सिफारिस गरेको छ । यसअघि २०७९ सालको निर्बाचनमा हुम्ला जिल्लामा ५८ वटा मतदान स्थलहरु कामय गरिएका थिए । हुम्ला जिल्लाको मतदाता संख्या ३३ हजार ३०८ रहेको छ । यसमा केही मतदाता थपिने छन ।























