दुई वटा कार्यालयको सम्युक्त भवन निर्माण सुरु

फोटो क्याप्सन बकेटले खनेर भवनको निर्माण कार्य सुरु गरिदै । तस्बिर सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । दुई वटा सरकारी कार्यालयहरुको सम्युक्त भवनको निर्माण कार्य सुरु भएको छ । हाल भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएका कोष तथा लेखा नियन्त्रण कार्यालय र हुलाक कार्यालयको लागि एउटै भवन निर्माण कार्य सुरु भएको हो ।

हुलाक कार्यालयको जग्गामा दुई वटा सरकारी कार्यालयको नयाँ र सुबिधा सम्पन्न भवनको निर्माण कार्य सुरु भएको हुलाक कार्यालयका प्रमुख अकल बमले बताए । आफ्नो कार्यालयको नाममा जग्गा धेरै भएको तर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जग्गा नभएको अबस्थामा दुवै सरकारी कार्यालयका लागि एउटै जग्गामा एउटै भवन निर्माण कार्य सुरु भएको होे ।

उक्त भवनको निर्माण कार्यको जिम्मा पाएको निसान पाराजुली जेभीका प्रतिनिधि पालु रावतले असोज २ गते सम्झौता भएर निर्माण कार्य सुरु गरिएको बताए । निर्माण कार्य सुरु भएको र अब सम्झौता मिति भन्दा अगाडी नै भवन निर्माण कार्य सम्पन्न गरेर कार्यालयलाई हस्तान्तरण गर्ने उनले बताए । दुई वर्षको निर्माण अवधि रहेको उक्त भवन आगामी २०८४ सालको असोज महिनासम्म सम्पन्न गर्नु पर्नेछ ।

केही दिनमा हात्ती पाईले ढलान हुने र त्यस लगत्तै भवनको गाह्रो निर्माण सुरु हुने छ । भवनका लागि आवश्यक निर्माण सामाग्रीहरु अधिकाँस जम्मा भई सकेको निर्माण कम्पनीले जनाएको छ । बिशेष गरि जिल्ला बाहिरबाट खरिद गर्नु पर्ने रड र सिमेन्टको ब्यवस्था भई सकेको र स्थानीय स्तरमा जम्मा गर्नु पर्ने निर्माण सामाग्री जम्मा गर्ने कार्य जारी रहेको कम्पनीले जनाएको छ ।

भवनको कुल लागत चार करोड ७८ करोड रहेको छ । भवन निर्माणका लागि आवश्यक बजेटको ब्यवस्था सघन शहरी बिकास कार्यालय जुम्लाले गरेको हो । २८ कोठे साँढे दुई तले सो भवनको निर्माण कार्य पुरा भएपछि तल्लो तलामा कोष तथा लेखा नियन्त्रण कार्यालय र हुलाक कार्यालय रहनेछन ।

माथिल्लो तलमा कर्मचारीहरुका लागि आवासको ब्यवस्था गरिनेछ । तीन वटा हल निर्माण हुनेछन । हुम्लामा पहिलो पटक एउटै भवनमा दुई वटा कार्यालय सञ्चालनमा आउने भएका छन । भवन भित्रै शौचालय र बाथरुम पनि निर्माण हुनेछन् ।