सि.टा. समाचारदाता
हुम्ला । ताँजाकोट गाउँपालिका– २ को नयाँ बस्तीमा सरेका दलित समुदायहरु उज्यालो दियालोको भरमा र खानेपानी उधारोमा प्रयोग गर्दै आएका छन । नयाँँ बस्तीमा बसेको स्थानमा घरमाथि बिधुतको लाईन लगिएको भएपनि सो बस्तीमा बिधुत आपुर्ती नगरिएको र खानेपानी एउटा निर्माण कम्पनीले बनाई दिएको भएपनि हालसम्म त्यसको भुक्तानी नभएको कारण खानेपानी उधारोमा प्रयोग गर्दै आएका हुन ।
उक्त बस्तीका ६५ वर्षका धनपति चदाराले दुई वर्ष अगाडीदेखि नयाँ बस्तीमा आफै घर निर्माण गरेर बसाई सरेको भएपनि उज्यालो दियालोको भरमा र खानेपानी उधारोमा प्रयोग गर्दै आएको बताए । उनले गाउँपालिका केन्द्र लिने राष्ट्रिय प्रशारण लाईन नयाँ बस्तीका घर माथिबाट पोल हालेर लिएको भएपनि सो बस्तीका लागि बिधुत आपुर्ती नगरिएको कारण दुई वर्षदेखि सल्लाको दियालो बालेर उज्यालो गरि रहेको बताए ।
उक्त गाउँपाालिका –२ को पहिलेको मैला गाउँमा रहेको पुरानो सानो र जिर्ण घरमा पहिरो जाने चिन्ता भएपछि नयाँ बस्तीमा एघार घरधुरी सर्नु भएको थियो । दुई वर्षयता उज्यालो दियालोबाट चल्दै आएको छ । बिधुत आपुर्तीका लागि गाउँपालिकालाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई हुन नसकेको र बिधुत आपुर्ती गर्न असजिलो भए सोलारको ब्यवस्था गर्न आग्रह गर्दा पनि त्यो हुन पनि नसकेको हो ।
एक वर्ष अगााडीदेखि खानेपानी पनि उधारोमा प्रयोग गर्दै आएको उक्त बस्तीकी ६० वर्षकी डोईला चदाराले बताईन आफुहरुको बिस्वासले बाजुराको पिलुका एक जना निर्माण ब्यवसायीले उधारोमाा खानेपानी योजना निर्माण गरि दिएको भएपनि हालसम्म भुक्तानी हुन सकेको छैन । पटक पटक फोन गरेर खानेपनी निर्माणको भुक्तानीका लागि खवर गर्ने गरेको भएपनि आफुहरु गाउँपालिकाबाट काम नभएको र ब्यक्तिगत रुपमा तिर्न नसक्ने बताएपछि चुप लागेर बस्ने गरेका छन् ।
उक्त बस्तीका लागि खानेपानी निर्माण गर्दा पन्द्र लख लागत लागेको थियो । तर हालसम्म खानेपानीको काम उधारो रहेको छ । दलितहरु बस्दै आएको नयाँ बस्तीका स्थानीयले उज्यालो दियालोको भरमा र खनेपानी उधारोमा प्रयोग गरि रहेको वडा नम्बर १ का वडा अध्यक्ष मोहनलाल रिठालले बताए । नयाँ बस्तीको यो समस्या समाधानका लागि आफु गाउँपालिकामा लडी रहेको भएपनि हालसम्म केही गर्न नसकेको बताए । यो समस्या समाधान गर्न सकिने नसकिने अहिले नै केही भन्न नसकिने अवस्था रहेको छ ।















