सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले हुम्लाद्धारा एघारौ महाधिबेशन प्रतिनिधि छनौटका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । प्रतिनिधि छनौटका लागि तीन दिने कार्यतालिका बिहीबार सार्वजनिक गरिएको हो ।
कार्यतालिका अनुसार प्रतिनिधि छनौटका लागि नामावली प्रकाशन बिहीबार गरिएको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार मङ्सिर १२ गते १० वजेबाट ४ वजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारको नामावली प्रकाशन र दावी बिरोध पनि तालिकामा राखिएको छ ।
मङ्सीर १३ बिहान दश वजेसम्म उम्मेदवारी फिर्ता, दिउसो १ वजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउसो २ वजे मतदान गरिने छ । महाधिबेशन प्रतिनिधिमा हुम्ला जिल्लाबाट छ जनाले सहभागिता जनाउन पाउनेछन । त्यसमा एक जना महिला, एक जना दलित, एक जना चालीस वर्षमुनीको र तीन जना खुल्लाबाट छनौट हुनेछन् ।
प्रतिनिधि छनौटका लागि दुई हजार १७१ मतदाता रहनु भएको छ । प्रतिनिधिका लागि आकांक्षी बढी देखिएको कारण मतदानबाट टुङ्गाउने संभावना बढी रहेको एमाले जनाएको छ । यद्यपि १३ गते १ वजेसम्म सर्वसम्मत प्रतिनिधि चयनका लागि प्रयास भने जारी राख्ने एमाले हुम्लाका नेताहरुले बताउनु भएको छ ।















