
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको नयाँ प्रशासकीयय भवन निर्माण यसै वर्षबाट सुरु हुने भएको छ । गाउँपालिकाले मापदण्ड पुरा भएको प्रस्ताव पेश गरेको र शहरी बिकास मन्त्रालयको स्थानीय पुर्वाधार बिकास बिभागले स्वीकृत गरेपछि प्रशासकीय भवन निर्माणको बाटो खुलेको हो ।
नेपाल सरकार शहरी विकास मन्त्रालय, पुर्वाधार विकास विभाग, स्थानीय तहको प्रशासकीय भवन पुर्वाधार विकास कार्यक्रमले अदानचुली गाउँपालिकालाई पत्राचार गर्दै प्रशासकीय भवन निर्माणको प्रकृया अगाडी बढाउन अनुरोध गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए ।
उनका अनुसार शहरी विकास मन्त्रालयका सचिब गोपाल प्रसाद सिग्देलको संयोजकत्वमा बसेको कार्यक्रम सञ्चालन निर्देशक समितिको बैठकले अदानचुली गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि यस कार्यक्रमबाट लागत सहभागिताको शर्त अनुसार छनौट भएको हुँदा तत्कालै निर्माण प्रकृया सुरु गर्न परिपत्र प्राप्त भएको छ ।
यसअघि प्रशासकीय भवनको जग्गा खरिद गरिएको भएपनि गाउँपालिकाको नाममा नामसारी नभएका कारण भवन निर्माणको लागि स्रोत जुटाउन गाह्रो भएको थियो । अघिल्लो कार्यकालमा जग्गा खरिद गरिएको भएपनि गएको वर्ष गाउँपालिकाले जग्गा गाउँपालिकाको नाममा ल्याए लगत्तै प्रशासकिय भवन निर्माणको लागि बाटो खुलेको हो ।
गाउँपालिकाको नाममा जग्गा पास भएदेखी आफु निरन्तर रुपमा प्रशासकीय भवन निर्माणको लागि पहल गरी रहेको भएपनि यस वर्षबाट निर्माण प्रकृया सुरु हुने भएको अध्यक्ष सिंहले बताए । भवन निर्माणका लागि तत्काल टेण्डर निकाल्न आफुले निर्देशन दिई सकेको उनले बताए ।
गाउँपालिकाको प्रस्ताव पारित भई सकेको र अब भवनका लागि जम्मा लागत नौ करोडमा साठी प्रतिशत मन्त्रालय र चालीस प्रतिशत गाउँपालिकाले लागत ब्यहोर्ने छ । भवनको दुई वर्षमा निर्माण कार्य सम्पन्न हुनेछ । अहिलेसम्म अदानचुली गाउँपालिकाको आफ्नै भवन बन्न नसक्दा भाडामै बसेको अबस्थामा गएको वर्ष मात्रै गाउँपालिकाको आन्तरिक स्रोतबाट अस्थायी टहरा निर्माण गरेको छ ।
उक्त अस्थायी टहरामा सर्ने तयारी भैरहेको गाउँपालिका स्रोतले जनाएको छ । गएको साउनबाटै सर्ने भनिए पनि प्राबिधिक कारणले सर्न नसकिएको र त्यहाँ केही व्यबस्थापन समेत गर्न नसकिएकाले केही ढिलाई भैरहेको जनाएको छ । अस्थायी टहरा आफ्नै जग्गामा बनेको छ ।
हुम्लाका सात वटा गाउँपालिका मध्ये ताँजाकोट गाउँपालिकाले आफ्नै जग्गामा स्थायी प्रकृतिको प्रशासकीय पक्की भवन निर्माण गरी सकेको छ भने खार्पुनाथ गाउँपालिकाले अस्थायी प्रकृतिको भवन निर्माण गरी बसेको छ ।
चङ्खेली गाउँपालिकाको सो भवन निर्माणको क्रममा रहेको छ भने नाम्खा गाउँपालिकाको भवनका लागि प्रस्ताव पारित भई सकेको छ । अब यसै वर्षबाट अदानचुली गाउँपालिकाले पनि यसै वर्षबाट आफ्नै भवन निर्माण प्रकृया सुरु गर्ने भएको छ ।























