
सि.टा. समाचारदाता
सिमकोट । प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले राती बाह्र बजेसम्म आफ्नो सेवा प्रदान गर्ने गरेको छ । यस आवमा सञ्चालन गरिने धेरै योजनाहरुको पेश्की भुक्तानी दिने कार्य गर्नु परेको र सेवाग्राहीको चाप बढी भएपछि अतिरिक्त समय निकालेर राती अवेरसम्म काम गर्नु परि रहेको बताउनु ।
एक जना प्राविधिक जनशक्तिका भरमा पनि कार्यालयले आफ्नो कामहरु गर्नु परि रहेको कारण कामको चाप धेरै भएपछि राती बाह्र वजेसम्म काम गरेर सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको सामाजिक बिकास कार्यालयका प्रमुख इश्वर बहादुर सिंहले बताए । ती योजनाको सम्झौता गर्ने कार्य सम्पन्न भएकोले अब नियमनुसार पेश्की रकम भुक्तानी गर्नु पर्ने भएको कारण कामको चाप बढेको र त्यसको परिणाम राती पनि काम गर्नु परि रहेको होे ।
कार्यालयले निर्धारित मिति भन्दा केही दिन अगाडी नै सबै योजनाको सम्झौता गरेको थियो । अब मङ्सिर महिनाभित्रै सबै योजनाका लागि पेश्की भुक्तानी दिई सक्ने लक्ष्य कार्यालयको रहेको र त्यसलाई पुरा गर्न अतिरिक्त समयमा काम गर्नु परि रहेको उहाँले बताउनुभयो ।
मङ्सिर दोस्रो हप्ताभित्र कार्यालयले सवै योजनाहरु कार्यान्वयनमा ल्याएको थियो । यसवर्ष अठार वटा पुर्वाधार योजना ठेक्का पट्टठाबाट र ४८ वटा योजना उपभोक्ता समितिसंग सम्झौता भएर काम सुरु भएको छ । यसबाट यो वर्ष निर्माण गर्ने सतप्रतिशत योजना कार्यान्वयन चरणमा पुर्याएको थियो । यी योजना सम्पन्न गर्नका लागि बीस करोड पन्द्र लाख बजेट विनियोजित गरिएको छ ।
योजनाहरुका लागत पन्द्रदेखि नब्बे लाख रुपियाँसम्म बजेट बिनीयोजित गरिएको छ । योजनाहरु विद्यालय भवन निर्माण, घेरवार, खेल मैदान निर्माण, क्याम्पस भवन मर्मत, पत्रकार महासंघको भवन निर्माण, सुधारिएको घट्ट, वडा भवन लगाएतका रहेका छन । आगामी जेठ दोस्रो हप्ताभित्र सवै योजनाको कार्य सम्पन्न गरेर असार महिनामा केही नमिलेका काम मात्र गर्ने लक्ष्यमा कार्यालय रहेको छ ।























