हिमपात पुर्व तयारी तथा प्रतिकार्य योजना तयार

फोटो क्याप्सन तयार भएको प्रति कार्य योजना माथि सुझावका लागि बैठकमा छलफल गरिदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिउदे समय सुरु भएसंगै हिमपात पुर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । उपसमितिले तयार पारेको उक्त प्रति कार्य योजना जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले पारित गरेपछि यो कार्यान्वयन चरणमा आएको हो ।

हिउदे सिजन सुरु भएसंगै हिमपात पुर्व तयारी तथा प्रति कार्य योजना तयार पारेर त्यसलाई कार्यान्वयनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताए । जिल्लाले पहिलो पटक हिमपात पुर्व तयारी तथा प्रतिकार्य योजना पहिलो पटक निर्माण गरि कार्यान्वयनमा ल्याएको हो । यो प्रतिकार्य योजना तयार भएसंगै अब हिमपातबाट हुने बिपदको उद्धार, सजगता अपनाउन सहज भएको छ ।

तयारी भई कार्यान्वयनमा आएको हिमपात पुर्व तयारी तथा प्रतिकार्य योजनामा हिमपातबाट उच्च जोखिममा रहेको स्थानहरुको पहिचान गरिएको छ । यसमा जिल्लाका उच्च क्षेत्रका स्थानलाई समेटिएको छ । जिल्लाका सात वटा मध्य नाम्खा, सिमकोट, खार्पुनाथ, चङ्खेली गाउँपालिकालाई उच्च जोखिममा पहिचान गरिएको छ ।

त्यसैगरि सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका उच्च क्षेत्रलाई पनि जोखिम क्षेत्रका रुपमा पहिचान गरिएको छ । हिमपातबाट क्षेती भए त्यसको उद्धार तथा राहतको पनि ब्यवस्था गरिएको छ । मङ्सिर महिनादेखि चैत महिनासम्म हुम्लामा हिमपात हुने गर्छ ।