वडास्तरमा योजना सम्झौताका लागि घुम्ती शिबिर आयोजना

फोटो क्याप्सन ताँजाकोट गाउँपालिकाको कार्यालय । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासंग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाले घुम्ती शिबिरको आयोजना गरेर योजनाको सम्झौता कार्य गरि रहेको छ । योजना सम्झौता कै लागि सेवाग्राहीलाई गाउँपालिका केन्द्र आउने पर्ने झण्झटबाट मुक्ती दिनका लागि यसवर्षबाट गाउँपालिकाले यो नयाँ उपाय अपनाएको हो ।

चालु आर्थिक वर्षका लागि तर्जुमा भएका गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगबाट निर्माण हुने जति पनि योजनाको सम्झौताका लागि वडा स्तरमा घुम्ती शिबिर सञ्चालन गरेर सम्झौता कार्य धमाधम भई रहेको प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताएका ।

जनप्रतिनिधिहरुसंग छलफल पछि कर्मचारीहरु वडा स्तरमा पुगेर भए जतिका सबै योजनाको सम्झौता घुम्ती शिबिर मार्फत सेवाग्राहीलाई सहज हुने गरि सम्र्झाैता गर्ने कार्य भई रहेको छ । यो काम गर्न शिबिरमा प्रशासकीय अधिकृत, योजना प्रमुख र प्राबिधिकहरु टोली सार्वजनिक बिदा भएपनि वडामा पुगेर काम गरि रहेको उहाँले बताउनुभयो ।

गत पाँच दिनदेखि शिबिर मार्फत वडा कार्यालयहरुमा पुगेर सम्झौता गर्ने कार्य भई रहेको छ । यसवर्ष सो गाउँपालिकामा तीनै तहका गरि ५८ वटा पुर्वाधार योजनाहरु रहेका छन । हालसम्म पचास प्रतिशत भन्दा बढी योजनाको सम्झौता गर्ने कार्य भई सकेको र अझै काम जारी छ । ताँजाकोट गाउँपालिकामा पाँच वटा वडाहरु रहेका छन ।

हालसम्म दुई वटा वडामा योजना सम्झौता गर्ने कार्य सम्पन्न भई सकेको छ । केही टाढाको बस्ती मासपुर भएको र सो बस्तीका योजना सम्झौता गर्न पनि टोली पैदल हिडेर पुग्ने गर्छ । गाउँपालिका केन्द्रबाट बिहान योजना सम्झौताका लागि गएको टोली बेलुका काम सकेर भने गाउँपालिकामा फिर्ता हुने गरेको छ ।

योजना सम्झौताका लागि सबै आबश्यक कागजातहरु टोलीले बोकेर जाने र उपभोक्ता समितिसंग सिधै सम्झौता गर्न पनि सहज भएको उहाँले बताउनुभयो अब गाउँपालिका योजनाको सम्झौता मात्र वडा स्तरमा नगरि कामको मुल्याङ्कनका आधार भुक्तानीको ब्यवस्था पनि यसरी स्थलगत रुपमै गर्ने तयारीमा गरिएको छ ।

गाउँपालिका केन्द्रमा योजनाको सम्झौताको लागि सेवाग्राहीलाई बोलाउदा समय लाग्ने, खर्च बढ्ने र सेवाग्राहीले दुःख पनि पाउने भएको कारण यसवर्ष गाउँपालिकाले यो उपाय अपनाईएको होे । गतवर्षसम्म फागुनमा गरिने योजनाको सम्झौता कार्य यसवर्ष मङ्सीर महिनाभित्र गरि सक्ने गाउँपालिकाको लक्ष्य रहेकोले त्यही अनुसार काम पनि भई रहेको गाउँपालिकाले जनाएकोछ । कर्मचारी वडास्तरमा आएर योजनाको सम्झौता गर्ने कार्य भएपछि सेवाग्राही पनि खुसी भएका छन ।