सि.टा समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा पन्द्र शैयाको अस्पताल निर्माण कार्य अगाडी बढ्न नसकेपछि अलपत्र अवस्थामा रहेको छ । अस्पतालको निर्माण कार्यको जिम्मा पाएको कम्पनीले अधुरो काम छोडेर निर्माण कार्य रोकेपछि हाल अस्पताल भवन अलपत्र अवस्थामा रहेको हो ।
पाँच वर्षदेखि गाउँपाालिकाको केन्द्र छप्रेलामा निर्माण कार्य सुरु भएको पन्द्र शैयाको अस्पताल भवन हालसम्म अलपत्र अवस्थामा रहेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए । २०७७ सालमा उक्त अस्पताल निर्माणका लागि गाउँपालिकासंग धुलिखेल निर्माण सेवासंग सम्झौता भएको थियो । संघीय सरकारको लगानीमा अस्पताल भवन निर्माण हुन लागेको हो ।
आरसिसि भवनको डिपिसी गरेर केही माथि गाह्रो लगाउने, झ्याल, ढोका राखिएको तीन वर्ष भएपनि त्यसपछि भने कुनै निर्माण कार्य अगाडी बढ्न नसकेको उनले बताए । बजेटको अभाव नभएको तर निर्माण कम्पनीको खराव नियत कै कारण काम अगाडी बढ्न नसकेको अध्यक्ष जैसीको भनाई छ । सो भवन सात करोड बजेटमा निर्माण कार्य पुरा गर्ने गरि निर्माण कम्पनीले गाउँपालिकासंग सम्झौता गरेको थियो । आफु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई सकेपछि पटक पटक निर्माण कम्पनीलाई लिखित पत्रचार गर्दा पनि कुनै सुनुवाई हुन नसकेको होे ।
निर्माण कम्पनीसंग सम्झौता गर्दा २०७९ सालसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समय सिमा तोकिएको थियो । २०८२ साल जान चार महिना बाँकी रहँदासम्म काम अगााडी बढ्न सकेको छैन् । अब कालो सुचीमा राख्ने र सम्झौता तोड्न तयारीमा गाउँपालिका पुगेको छ ।
पहिले सडक नजोडिएको कारण सामाग्री ढुवानी गर्न कठिन हुने कुरा स्वभाविक भएपनि हाल भने अस्पताल भवन निर्माण स्थलसम्म सडक पुगी सकेको कारण बाहिरबाट ल्याउन पर्ने निर्माण सामाग्री ढुवानीमा समस्या नभएको उनले बताए । आफ्नो कार्यकालमा गाउँपालिका स्तरको अस्पताल निर्माण कार्य पुरा गरेर सञ्चालनमा ल्याउन आफ्नो सपना निर्माण कम्पनीको कारण पुसारापात भएको भनाई उनको छ ।
अब केही नलाग्ने देखिएपछि अख्तियारमा जाने बिचारमा आफु रहेको उनले बताए । अस्पताल भवनको निर्माण कार्य अगाडी बढ्न नसक्नुको कारण बारे बुझ्न धुलिखेल निर्माण सेवाका प्रतिनिधिहरुसंग बुझ्न खोज्दा कोही पनि सम्पर्क आउन चाहेन् ।


















