कर्णालीमा बालबिबाह अन्त्य गर्ने रणनीति तयार

सि.टा. समाचारदाता
सिमकोट । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये ३२ पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । कर्णाली प्रदेशमा देशमै धेरै बालविवाह हुने र त्यसको चौतर्फी असर बढ्न थालेपछि बालविवाह विरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहयोगमा ३२ पालिकामा बालविवाह अन्त्यको रणनीति तयार भएको हो ।

तीन वर्षको अवधिमा ती रणनीति बनेका हुन् । सञ्जालका वकालत अधिकृत निकिता कठायतका अनुसार सञ्जालमा कर्णालीका एक सयभन्दा बढी सङ्घ संस्था आबद्ध रहेको र यसको मुख्य लक्ष्य बालविवाह अन्त्य गराउनु रहेका छन  । सञ्जालको सहयोगमा कर्णालीका ७९ वटा पालिकामध्ये ३२ वटामा बालविवाह अन्त्यको रणनीति तयार भइसकेको छ ।

सञ्जाल कै अग्रसरतामा कर्णाली प्रदेश सरकारले पनि बालविवाहविरुद्धको रणनीति निर्माण गरेको छ । अब बाँकी पालिकामा पनि रणनीति तयार गर्ने काम भइरहेको छ । रणनीति तयार भएपछि स्थानीय तहमा बालविवाह अन्त्यको काम गर्न सहज हुने र यसले बालविवाहमा कमी ल्याउने बिस्वास गरिएको छ ।

यही अवधिमा सञ्जालले २० वर्षमुनिका बालविवाह गरेका १२० बालिकालाई अत्यावश्यक उद्धार तथा सहयोगसमेत गरेको छ । बालविवाहको अवस्था बढ्दै गएपछि त्यसको मुख्य असर बालिकालाई पर्ने र उनीहरूको सामाजिक, शारीरिक, मानसिक, शैक्षिक क्षति हुने हुँदा बालविवाह अन्त्यको रणनीति निर्माणलाई प्राथमिकता दिइएको छ ।

सञ्जालका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, वराहताल गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, हुम्लााको खार्पुनाथ गाउँपालिका लगायतमा बालविवाह अन्त्यको रणनीति तयार भइसकेको छ ।