हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिने

फोटो क्याप्सन जिल्ला प्रहरी कार्यालयमा निर्वाचन प्रहरीका लागि आवेदन दिन पुगेको युवा युवतीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ती समिति हुम्लाले एक सुचना जारी गरेको निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो ।

निर्वााचन सम्बन्धी एकिकृत सूचनामा ५९५ सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक शंकर खड्काद्धारा जारी सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी–सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उल्लेख छ ।

एक मात्र निर्वााचन क्षेत्र भएको हिमाली जिल्ला हुम्लामा ५४९ जना नेपाल प्रहरीतर्फ र सशस्त्र प्रहरीतर्फ ४६ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । आईतबारसम्म १७८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन पेश गरि सक्नु भएको छ । पुस २५ गतेबाट माग १ गतेसम्म भर्नाका लागि आवेदन लिन सुरु गरिएको छ ।

छनौट माघ ५ गतेदेखि ९ गतेसम्म हुने र अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुने छ भने माघ १५ गतेबाट २५ गतेसम्म अभ्यास सहितको प्रशिक्षण हुनेछ । निर्वाचन प्रहरी चालीस दिनका लागि भर्ना गरिनेछ ।

हुम्लामा आसन्न निर्वाचनका लागि ६० वटा मतदान स्थल र ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् । त्यसैगरि यो निर्वाचनमा ३४ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा अठार हजार २१ पुरुष र १६ हजार ५३१ महिला मतदाता रहनु भएको छ ।