मानसरोवर कैलाश यात्रा कठिन तर रोमान्चक

निर्मल कुमार आचार्य

हिन्दु धर्मावलम्बीका लागि मानसरोवर–कैलाशको यात्रा महत्वपूर्ण हुने नै भयो । बौद्ध, जैन, सिख तथा बोन धर्मावलम्बी पनि मानसरोवर र कैलाशको यात्रा भनेपछि मरिहत्ते गर्छन् । साहसी पर्यटन रुचाउनेका लागि समेत कैलाश परिक्रमा मुख्य गन्तव्य बनेको छ । शिवपुराण, विष्णुपुराण, स्कन्दपुराण आदि विभिन्न पुराणमा मानसरोवर तथा कैलाश पर्वतबारे विशद वर्णन गरिएको छ । कुबेरको नगरी मानिने कैलाशलाई महादेवको निवासस्थान मानिन्छ ।

शिव–पार्वतीको क्रीडास्थल चाहिँ मानसरोवर हो । पौराणिक साहित्यका अनुसार यस मानसरोवरमा शिव, पार्वती राजहंसका रूपमा विचरण गर्छन् । मानसरोवरका सम्बन्धमा वाल्मीकि रामायणमा यस्तो उल्लेख पाइन्छ :

कैलासपर्वते राम मनसा निर्मितं सरः ।

ब्रह्मणा नरशार्दूलं तेनेदं मानसं सरः ।। 

अर्थात्, हे राम, कैलाश पर्वतमा ब्रह्माजीले आफ्नो मनबाट एउटा सरोवर बनाउनुभयो । हे नरशार्दूल (राम) !, मनले बनाइएका कारण यसको नाम ‘मानसरोवर’ हुन पुग्यो ।

‘कूर्मपुराण’ अनुसार मानसरोवरमा स्नान गर्दा इन्द्रको अर्धासन प्राप्त हुन्छ । उत्तर मानस तीर्थको यात्रा गर्नाले उत्तम सिद्धि प्राप्त हुन्छ ।

मानसे सरसि स्नात्वा शक्रस्यार्धासनं लभेत् ।

उत्तरं मानसं गत्वा सिद्धिं प्राप्नोत्यनुत्तमाम् ।।

श्रीमद्देवीभागवतको छैटौँ स्कन्धमा पनि मानसरोवरसित सम्बन्धित रोचक कथा छ । यस अनुसार वहिष्ठ ऋषिको श्रापले विश्वामित्र ‘बकुला’ र विश्वामित्रको श्रापले गर्दा वशिष्ठ ऋषि ‘आडी’ (पक्षी) भए । श्रापवश चरा बनेका ऋषिले मानसरोवरको किनारमा नङ तथा चुच्चोले एकअर्कालाई प्रहार गर्दै १० हजार वर्ष बिताए । मानसरोवर धार्मिक, सांस्कृतिक आदि विविध दृष्टिकोणले अनुपम छ । यहाँ सतीदेवीको दायाँ हत्केलो पतन भएको कथन पनि छ । तिब्बती मान्यता अनुसार मानसरोवर स्वर्गकी देवीको स्थान र कैलाश पिताको स्थान हो । उहिले यक्ष, किन्नर आदिको आवासस्थल रहेको यस मानसरोवर क्षेत्रमा ‘उर्वशी–पुरुरवा’ को मिलन भएको उल्लेख पनि पाइन्छ । ऋषिमुनिका लागि आराध्यस्थल ‘मानसरोवर’ पितृकार्यका लागि पनि प्रसिद्ध छ ।

अपार जलस्रोत

तिब्बती भाषामा ‘मापाम युम शो’ भनिने मानसरोवरलाई पतितपावन मानिन्छ । समुद्री सतहबाट चार हजार छ सय मिटर उचाइमा रहेको मानसरोवरमा ससाना माछा, हाँस, चखेवा, चखेवी आदिले थप आनन्द बर्साइरहेको पाइन्छ । झन्डै ९० किलोमिटर परिधिको मानसरोवर विशाल छ, पैदल परिक्रमा गर्ने हो भने चार दिन लाग्ने भनाइले यसको इयत्ता आकलन गर्न सकिन्छ ।

मानसरोवरलाई विभिन्न नदीको स्रोत मान्ने गरिए पनि यहाँबाट कुनै नदी प्रत्यक्षतः बगेको देखिँदैन । मानसरोवर क्षेत्रबाट चाहिँ कैयन् नदी बगेका छन् । ब्रह्मपुत्र, सिन्धु, शतलज र कर्णालीको पनि उद्गम स्थल यहीँ हो । ‘माप्चोचोङ्गो’ बाट निस्किई मानसरोवर क्षेत्र हुँदै प्रवाहित हुने नदी ‘माप्चा खम्बाब’ अर्थात् कर्णाली नदी हो । यही कर्णाली ‘घाघरा’ भनिँदै अयोध्यामा ‘सरयू’ कहलाएको हो । ब्रह्माद्वारा बनाइएको ‘ब्रह्मपुत्र’ लाई पुरुषसूचक नदीका रूपमा हेरिन्छ । तिब्बती भाषामा ब्रह्मपुत्रको नाम ‘यार्लुङ त्संगपो’ हो, भारतमा ‘शोणित’ हुँदै ‘ब्रह्मपुत्र’ कहलाई बङ्गलादेशमा ‘जमुना’ नामले चिनिन्छ यो ।

उज्यालो र अँध्यारो

‘गोलाकार’ मानसरोवरनजिकै ‘अर्धचन्द्राकार’ राक्षसताल छ । मानसरोवरको पानी मिठो, राक्षसतालको पानी चाहिँ नुनिलो ! मानसरोवरमा थरी थरीका पन्छी, माछा आदि जीव देखिन्छन्; राक्षसतालमा चाहिँ न पशुपन्छी देखिन्छन्, न त वनस्पति । यिनै विविध कारणले मानसरोवरलाई उज्यालो (सकारात्मकता) र राक्षसताललाई अँध्यारो (नकारात्मकता) को प्रतीक मानिएको हुनु पर्छ । तिब्बती भाषामा ‘ल्हानाग त्सो’ भनिने राक्षसतालको पानी विषालु भएकाले त्यता जान रोक लगाइएको छ । राक्षसताल शतलज नदीको मुहान पनि हो । राक्षस तालमा लङ्केश रावणले महादेवको कठोर तपस्या गरेको भनाइ छ । खराब प्रवृत्तिका रावणले नुहाएका कारण तालको पानी विषाक्त बनेको तर्क पनि सुनिन्छ । रावणले १० हजार वर्ष कडा तपस्या गर्दा प्रतिहजार वर्ष एक÷एक शिर चढाएका थिए रे । अन्तिम १० हजार वर्षमा १० औँ शिर चढाउन लाग्दा शिव प्रकट भई रोकेको वर्णन पाइन्छ । रावणले शिवजीलाई प्रसन्न तुल्याई कैलाशसहित श्रीलङ्का लग्न खोजेका रहेछन् । त्यो सम्भव नभएपछि उनी शिवजीको ज्योतिर्लिङ्ग लिई फर्केछन्, बाटोमा कतै बिसाउन नहुने थियो, यहीबिच उनलाई पिसाबले च्याप्यो । एक ब्राह्मणलाई जिम्मा लगाई पिसाब फेर्न गए । ती बैजनाथ ब्राह्मणले ज्योतिर्लिङ्ग तल राखिदिएछन् । लाखौँ, प्रयास गर्दा पनि रावणले उचाल्न सकेनन् । त्यही ज्योतिर्लिङ्ग भारतस्थित झारखण्डमा पर्ने बैजनाथ बाबा, वैद्यनाथ बाबा वा बाबाधामका रूपमा प्रसिद्ध बन्यो । वैद्यनाथधामका बारेमा मतान्तर पनि छन् । कसैका भनाइमा परली, महाराष्ट्रमा रहेको वैजनाथधाम (परल्यां वैद्यनाथ) सक्कली हो । नेपालको अछाम जिल्लामा रहेको बूढीगङ्गा र सरस्वती नदीको सङ्गममा अवस्थित वैजनाथधाम पनि यसबखत अविस्मरणीय बनेको छ । कैलाशमा तपस्या गरी शिर चढाएका रावणको शिर जोड्ने ‘वैद्यनाथ बाबा’ शिवको स्मरणमा यहाँ प्राचीन वैजनाथ मन्दिर निर्मित छ ।

अद्भुत छटा

मानसरोवरबाट झन्डै ४० किलोमिटर दुरीमा कैलाश पर्वत छ । कैलाशलाई परिवारसहित भगवान् शिवको वासस्थान मानिन्छ । कैलाश पर्वतको स्वरूप शिवलिङ्ग जस्तै छ । अनेक पुराण, तन्त्र आदि साहित्यमा मानसरोवर झैँ कैलाशको पनि महिमागान गरिएको छ । स्कन्दपुराणका अनुसार त यसको नाम स्मरण मात्रैले पनि ठुलो फल प्राप्त हुन्छ । बौद्ध धर्मावलम्बीहरू कैलाशलाई सम्पन्न हिमालको द्योतक ‘काङ रिम्पोचे’ भन्दछन् । कैलाशलाई ब्रह्माण्डको उत्पत्ति र शक्तिको केन्द्र मान्ने बोन धर्मावलम्बीहरू उत्तिकै श्रद्धाभाव राख्दछन् । कैलाश पर्वतकै शृङ्खलामा रहेको ‘अष्टपद पर्वत’ जैन धर्मावलम्बीका लागि अति पवित्र स्थल हो । यही थलोमा जैन धर्मका प्रथम तीर्थङ्कर ‘आदिनाथ’ ऋषभदेवले तपस्या गरेका थिए । कैलाशको ‘अष्टपद क्षेत्र’ उनको मोक्षस्थान हो । सिख धर्मका प्रवर्तक गुरु नानकले

( प्रस्तुत लेख गोरखापत्र दैनिकबाट साभार गरिएको हो )