लोग भण्डारी
सिमकोट । हिमाली जिल्ला हुम्लाका चार वटा मतदान केन्द्रमा मतदान कार्यका लागि खटिएका कर्मचारी र मतपत्र लगाएतका सामाग्रीहरु हेलिकोप्टरबाट ढुवानी हुने भएको छ । ती चार वटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अबरुद्ध भएको कारण कर्मचारी र मतपत्र लगाएतका निर्वाचन सामाग्री हेलिकोप्टरबाट ढुवानी गर्न लागिएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हुम्ला जिल्लाका चार वटा मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, मतपत्र लगाएत अन्य मतदान सामाग्रीहरु हेलिकोप्टरबाट ढुवानी गर्नका लागि निर्वाचन आयोगलाई गरिएको अनुरोध आयोगले सदर गरेको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताए । आयोगको यो अनुमतिले नाम्खा गाउँपालिका चार वटा मतदान केन्द्रमा खटिने कर्मचारी, मतपत्र लगाएतका सामाग्रीहरु हेलिकोप्टरले ढुवानी गर्ने बाटो खुलेको हो ।
यसरी हेलिकोप्टरले मतदान केन्द्रमा सेवा दिने स्थानहरुमा नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका तीन वटा भृकुटी आवि जाङ, सुनखानी आवि हल्जी र हिमशिखर आवि तीलका मतदाता रहेका छन् भने सोही गाउँपालिका– ४ को हिमालय आवि चाला मतदान केन्द्र रहेका छन् । उनका अनुसार लिमी जाने दुई वटा नाकाहरु नारा र न्यालु लेकको सडकमा हिउ जमेको कारण बन्द भएको कारण आयोगले हेलिकोप्टरको प्रयोग गर्न लागेको हो ।
त्यसैगरि चाला जाने बाटोमा पनि हिउ जमेर घोडेटो बाटो अबरुद्ध भएकोले पनि सो मतदान केन्द्रमा पनि हेलिकोप्टरको ब्यवस्था गर्न लागिएको हो । ती मतदान केन्द्रहरु भौगालिक कारणले जिल्ला सुरक्षा समितिले अतिसम्वेदनशील स्थालका रुपमा रहेको औल्याएको थियो । लिमीको सुनखानी प्रावि मतदान केन्द्र हल्जीमा २९३, भृकुटी प्रावि मतदान केन्द्र जाङमा २४७, हिमशिखर प्रावि तीलमा १३२ र हिमालय प्रावि चालामा १५९ मतदाता रहनु भएको छ ।
हाल यी मध्य लिमीका तीन वटै मतदान केन्द्रमा बीस दशमलव असी प्रतिशत मतदाता गाउँमा रहनु भएको छ भने बाँकी काठमाडौं, चीनको ताक्लाकोट, देशका अन्य शहरमा रहनु भएको छ । ती मतदाताहरुलाई लिमी लैजानका लागि पनि सडक खुलाउने प्रयास सुरु गरिएको छ ।


















