
सि.टा. समाचारदाता
हुम्ला फागुन १६ गते । उत्तरी नाम्खा गाउँपालिका– ५ को हिल्साबाट नेपाल प्रहरी लिमी पुग्न सफल भएको छ । लिमी र हिल्साको बिचमा पर्ने यालुनाग्ला लेक क्षेत्रको हिउ छिचोल्दै नेपाल प्रहरी लिमीमा पुग्न सफल भएको हो ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका सिमा सुरक्षा चौकीका हिल्साका प्रहरीहरु हिल्सा र लिमीबिचको अग्लो यालुनाग्ला लेक क्षेत्रमा जमेको हिउ छिचोल्दै लिमी पुग्न सफल हुनु भएको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठल बताए ।
हिल्साबाट हिडेर गएको प्रहरीको टोली प्रहरी सहायक निरीक्षक मन्जुल खड्काको नेतृत्वमा हिउ छिचोल्दै लिमी पुग्न सफल भएको हो । प्रहरी टोली यालुनाग्ला लेकमा जमेको हिउमा आधा घण्टा हिडेर पार गर्नु परेको थियो । सो क्षेत्रमा एकदेखि डेढ फिट हिउ जमेको भएपनि प्रहरी छिचोलेर अगाडी बढ्न सफल भएको हो ।
हिल्साको सिमा सुरक्षा चौकीमा कार्यरत सात जना प्रहरी हिमपातपछि पहिलो पटक लिमी पुग्न सफल भएको उनले बताए । उनीहरु सातै जना प्रहरी लिमीका मतदान केन्द्रमा खटिनु भएको थियो । हिउ छिचोल्दै लिमी पुगेका प्रहरी लिमीका तीन वटा मतदान केन्द्रहरु भृकुटी आवि जाङमा दुई जना, सुनखानी आवि हल्जीमा दुई जना र हिमशिखर आवि तीलमा तीन जना निर्वाचन सुरक्षाका लागि खटिएका छन् ।
निर्वाचनमा खटिएका अन्य कर्मचारी लिमी नपुग्दै हिल्साबाट लिमी पुगेको प्रहरी लिमीका आफु खटिएका मतदान केन्द्रमा बस्न सुरु गरि सक्नु भएको छ । अव यी प्रहरी बाहेक लिमीका लागि तीन वटा मतदान केन्द्रमा खटिएका कर्मचारी, प्रहरी, निर्वाचन प्रहरी, मतपत्र र अन्य निर्वाचन सामाग्री हेलिकोप्टरबाट पठाईने छ ।

















