सि.टा. समाचारदाता
सिमकोट । चार हजार दुई सय मिटर उचाईमा अवस्थित नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले गुम्वामा बसेका भिक्षुहरुको सम्वन्धित स्थलमा पुगेर स्वास्थ्य उपचार गर्नु भएको छ । लामा बसाल्ने, आम्ची र जडिबुटीबाट उपचार गर्दै आउनु भएका गुम्वामा ज्ञान लिदै आउनु भएका भिक्षुहरुको स्वास्थ्यकर्मी सो स्थान मै पुगेपछि सहज रुपमा उपचार गरिएको हो ।
प्राकृतिक बन्दाबन्दीमा रहेको लिमीको छेवखोर्चे गुम्वामा लामा, पुजाआजा र ज्ञान सिक्दै आउनु भएका भिक्षुहरुको स्वास्थ्य जाँचका साथै उपचार गर्ने कार्य भएको लिमी स्वास्थ्य चौकीका संयोजक लोकेस बोहराले बताए । स्वास्थकर्मीहरुले बदलिँदो मौसमको कारण रुघाखोकी, झाडापखला, ज्वरो, दम, श्वासप्रश्वास, घुडा दुख्ने लगाएतका बिरामीको उपचार गरिएको हो ।
स्वास्थ्यकर्मीहरु स्वास्थ्य चौकी रहेको हल्जी गाउँवाट साँढे दुई घण्टा पैदल हिडेर सो गुम्वामा पुगेर लामा सहित १६ जना भिक्षुहरुको उपचार गरिएको उहाँले बताउनुभयो । त्यसका लागि दुई जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीको टोली औषधी सहित गुम्बामा पुगेको थियो । गुम्बामा पुगेपछि लामासंगको सम्वादपछि भिक्षुहरुले आफ्नो बिरामको उपचार गर्न राजी भएका थिए ।
यसअघि सो गुम्बा मात्र नभएर लिमीका स्थानीय समेत आधुनिक औषधी उपचार गर्न नमान्ने र लामा बसाल्ने, आम्ची तथा जडिबुटीको औषधी गर्ने गर्थेे । लिमीको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्न थालेपछि लामा समेत यो उपचार पद्धती गर्न सहमत भएका थिए । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले गुम्वाका लामा र भिक्षुहरुले समेत सहज रुपमा स्वास्थ्य परिक्षण गर्ने र बिरामी भए आधुनिक औषधी गर्न थालेकोमा खुसी ब्यक्त गरे । यसअघि सो गुम्वाका लामा र भिक्षुहरुले आम्ची र जेडिबुटीको उपचार गरेर आफ्नो स्वास्थ्य सुधार गर्दै आएका थिय ।


















