
सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका अधिकाँस कर्मचारीहरुले आफ्ना मतदान केन्द्रका लागि आवश्यक पर्ने सामाग्री बुझ्नु भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान हुन तीन दिन मात्र बाँकी रहँदा मतदान केन्द्रमा खटिएका बैसट्टी मतदान केन्द्रका कर्मचारीहरुलाई निर्वाचन सामाग्री बुझ्ने कार्य गर्नु भएको हो ।
निर्वाचनमा खटिएका कर्मचारीहरुलाई शनिबार बिहानैबाट निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री बितरण कार्य सुरु भएको र आईतबारसम्म बैसट्टी वटा मतदान केन्द्रका कर्मचारीले बुझेको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताए । मतदान कार्यको ४८ घण्टा अगाडी मतदान केन्द्रमा खटिएका कर्मचारी पुग्नु पर्ने कानूनी प्राब्धान रहेको छ ।
यस अनुसार फागुन १८ गते साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारीहरु पुग्नु पर्ने हुन्छ । निर्वाचन गराउनका लागि आवश्यक पर्ने ४९ प्रकारका सामाग्रीहरु निर्वाचनमा खटिएका कर्मचारी बुझाउने कार्य भएको हो । शनिबारबाट खटिएका कर्मचारीले ती सामाग्री बुझ्न सुरु गर्नु भएको थियो ताँजाकोट गाउँपालिका– ३ को बामादेम आवि मासपुर मतदान केन्द्रका मतदान अधिकृत बिसन रोकायाले सवै भन्दा पहिले निर्वाचन सामाग्री बुझेका थिए ।
सामाग्री बुझेपछि उनको टोली आईतबार मतदान केन्द्रतर्फ लागि सकेको छ । जिल्ला निर्वाचन कार्यालयबाट सामाग्री बुझेका कर्मचारीहरुले त्यस लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट दुवै किसिमका मतपत्रहरु बुझने कार्य भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताएका छन् ।
अब दुई वटा मतदान केन्द्रले निर्वाचन सााग्री बुझ्न बाँकी रहेको र त्यो पनि सोमबार बिहान बुझ्ने कार्य हुने भएको छ । हुम्ला जिल्लामा साठी मतदानस्थल र चौसट्टी मतदान केन्द्र रहेका छन्














