सि. टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका दुर्गम तथा विकट बस्तीमा अझै पनि मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी अन्धविश्वास र परम्परागत सोच कायमै रहेका बेला स्थानीय समुदायलाई सचेत बनाउने उद्देश्यले मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ।

हुम्लाका ग्रामीण बस्तीमा गर्भवती महिलाले अझै पनि समयमै स्वास्थ्य सेवा नपाउँदा बाटोमै बच्चा जन्माउनुपर्ने तथा कतिपयले घरमै सुत्केरी हुनुपर्ने बाध्यता पूर्ण रूपमा अन्त्य हुन सकेको छैन।
सुरक्षित प्रसूतिसम्बन्धी पर्याप्त जानकारीको अभाव र पुराना सामाजिक मान्यताका कारण गर्भवती महिलाले जोखिमपूर्ण अवस्थाबाट गुज्रिनुपर्ने समस्या विद्यमान छ।
यही अन्धविश्वास र गलत धारणालाई चिर्दै गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति गराउन प्रेरित गर्ने उद्देश्यले सडक नाटकमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
विभिन्न सरकारी तथा गैरसरकारी निकाय र सामाजिक संघसंस्थाले मातृ तथा नवजात शिशु स्वास्थ्यका क्षेत्रमा विभिन्न सचेतनामूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आए पनि गर्भवती महिलाले बाटोमै तथा घरमै बच्चा जन्माउने क्रम अझै पूर्ण रूपमा रोकिएको छैन।
यस समस्याको न्यूनीकरण तथा अन्त्यका लागि समुदायमै प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यले सडक नाटकमार्फत समयमै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउनुपर्ने सन्देश प्रवाह गरिएको जनाएको छ।

हुम्ला जिल्लाका विभिन्न स्थानीय तहमा सामाजिक तथा सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्ला (SIDC) को आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा जिल्लाका सर्केगाड र सिमकोट गाउँपालिकामा उक्त सडक नाटक प्रदर्शन गरिएको हो।
जिल्लाको सदरमुकाम सिमकोट तथा इलाका प्रशासन कार्यालयसमेत रहेको सर्केगाड बजारमा मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी सडक नाटक प्रदर्शन गरी कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरिएको छ।
सडक नाटकमा एएनसी (ANC) अर्थात् गर्भावस्थाको स्वास्थ्य परीक्षण (Antenatal Care) र पीएनसी (PNC) अर्थात् प्रसूतिपश्चात्को स्याहार (Postnatal Care) का विषयलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।
एएनसी भन्नाले गर्भावस्थामा आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्ने, आवश्यक परामर्श प्रदान गर्ने तथा सम्भावित स्वास्थ्य जोखिमको समयमै पहिचान गरी उपचार गर्ने स्वास्थ्य सेवालाई बुझिन्छ। त्यसैगरी, पीएनसी भन्नाले बच्चा जन्मिएपछि आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जाँच गर्ने, आवश्यक उपचार, पोषण, स्याहार तथा परामर्श प्रदान गर्ने सेवालाई जनाउँछ भन्ने विषय नाटकमार्फत स्पष्ट पारिएको थियो।
गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न एएनसी र पीएनसी सेवा अत्यन्तै महत्त्वपूर्ण रहेको सन्देश पनि नाटकमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।
एएनसी सेवामार्फत गर्भावस्थामा आमाको स्वास्थ्य परीक्षण तथा सम्भावित जोखिमको पहिचान गरिन्छ भने पीएनसी सेवामार्फत बच्चा जन्मिएपछि आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा आवश्यक स्याहार गरिन्छ। यी दुवै सेवाको नियमित उपयोगले मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृत्व प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विषय नाटकमा व्याख्या गरिएको थियो।
त्यसैगरी, गर्भधारण गरेपछि महिलाले आफ्नो तथा गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने सन्देशसमेत प्रवाह गरिएको थियो।
स्वास्थ्य मापदण्डअनुसार गर्भवती महिलाले गर्भावस्थाभर कम्तीमा आठ पटक एएनसी अर्थात् गर्भावस्थाको स्वास्थ्य परीक्षण गराउनुपर्ने विषयलाई नाटकमा जोड दिइएको थियो।

नियमित स्वास्थ्य परीक्षणबाट गर्भवती महिलाको रक्तचाप, रगत तथा पिसाबको अवस्था, पोषण स्थिति र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिने भएकाले सम्भावित जोखिम समयमै पहिचान गर्न सहयोग पुग्ने विषय पनि प्रस्तुत गरिएको थियो।
यसले सुरक्षित प्रसूति गराउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले गर्भवती महिलाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकतालाई नाटकमा सशक्त रूपमा उठान गरिएको थियो।
गाउँसमाजमा अझै पनि समयमै गर्भ जाँच नगराउने, गर्भावस्थामा आफ्नो स्वास्थ्यको पर्याप्त ख्याल नगर्ने, बाटोमै बच्चा जन्माउने, घरमै सुत्केरी हुने तथा स्वास्थ्यकर्मीको आवश्यक परामर्श नलिने प्रवृत्ति कायमै रहेको छ।
यस्ता कारणले गर्दा महिलाहरूले सुत्केरी हुने क्रममा विभिन्न किसिमका दुःख, पीडा तथा स्वास्थ्य जोखिम भोग्नुपर्ने अवस्था रहेको विषयलाई सडक नाटकमा यथार्थपरक रूपमा चित्रण गरिएको युथ क्लबका सदस्य ऐटन रावलले बताए।
उनका अनुसार सडक नाटकले समुदायमा विद्यमान गलत सामाजिक मान्यता, अन्धविश्वास तथा स्वास्थ्यसम्बन्धी चेतनाको कमीलाई उजागर गर्दै गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि समयमै स्वास्थ्य सेवा लिनुपर्ने सन्देश प्रवाह गरेको छ।

नाटकलाई थप प्रभावकारी र समुदायको जनजीवनसँग जोड्न देउडा गीतलाई समेत माध्यम बनाइएको थियो। देउडा गीतमार्फत मातृ तथा नवजात शिशुको स्वास्थ्य, गर्भवती आमाको हेरचाह तथा स्याहारसुसारका विषयलाई प्रस्तुत गर्दै स्थानीय समुदायमा सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको थियो।

स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्ला (SIDC) र गुड नेवर्स इन्टरनेशनल नेपालले हुम्ला जिल्लामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा नियन्त्रण, बालश्रम अन्त्य, बालशोषण न्यूनीकरण, जातीय छुवाछूत अन्त्य, छाउपडी प्रथा न्यूनीकरण, बालअधिकार तथा बालसंरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
यी संस्थाले सडक नाटक, देउडा प्रतियोगिता, वक्तृत्वकला तथा चित्रकला प्रदर्शनीलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै गाउँदेखि सहरसम्म सकारात्मक सामाजिक परिवर्तन ल्याउने उद्देश्यका साथ निरन्तर सामाजिक अभियान सञ्चालन गर्दै आएका छन्।
यस प्रकारका जनचेतनामूलक कार्यक्रमले हुम्लाका दुर्गम बस्तीमा विद्यमान सामाजिक कुरीति, अन्धविश्वास तथा स्वास्थ्यसम्बन्धी गलत धारणाको अन्त्य गर्दै सुरक्षित मातृत्व र नवजात शिशुको स्वास्थ्य सुरक्षाका विषयकाे सडक नाटकले समुदायको चेतनास्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।











