सिमकोट। सिमकोट गाउँपालिका–७ स्थित ओख्रेनमा ब्राइट फ्युचर युवा क्लबको आयोजनामा साउने संक्रान्तिको अवसर पारेर “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित भव्य वडास्तरीय तथा अन्तरक्लब भलिबल प्रतियोगिता सुरु गरिएको छ।
साउने संक्रान्तिका अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो। ब्राइट फ्युचर युवा क्लबकी सचिव लालदेवी शाहीका अनुसार प्रतियोगितामा वडा नम्बर ७ मा अन्तरक्लब तथा वडास्तरीय टिमहरु खुल्ला भलिबल प्रतियोगिता सञ्चालन भएकाे जानकरि दिनु भयाे ।

उनका अनुसार पछिल्लो समय दुर्गम हुम्ला जिल्लामा भलिबल खेलप्रतिको आकर्षण घट्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै युवापुस्तामा खेलप्रतिको रुचि अभिवृद्धि गर्न तथा भलिबल खेलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।
प्रतियोगितामा पुरुषतर्फ १० वटा टोली र महिलातर्फ ८ वटा टोलीले सहभागिताका लागि टिम दर्ता गराएका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिमकोट गाउँपालिका–७ का वडा अध्यक्ष बलवीर शाहीले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई आफ्नो सीप, कला र क्षमता प्रदर्शन गर्दै अनुशासित ढङ्गले खेल्न आग्रह गरे।
उनले ब्राइट फ्युचर युवा क्लबले खेलकुदमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
प्रतियोगितालाई थप प्रभावकारी बनाउन तथा क्लबलाई उत्साह प्रदान गर्ने उद्देश्यले वडा अध्यक्ष शाहीले आफ्नो व्यक्तिगत रुपमा रु. ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन्।
सहयोगप्रति आभार व्यक्त गर्दै ब्राइट फ्युचर युवा क्लबले आगामी दिनमा पनि सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ।
साथै, वडा अध्यक्ष बलवीर शाहीप्रति क्लबका तर्फबाट विशेष धन्यवादसमेत व्यक्त गरिएको छ।
उद्घाटन कार्यक्रम ब्राइट फ्युचर युवा क्लबकी सचिव लालदेवी शाहीको अध्यक्षतामा तथा वडा अध्यक्ष बलवीर शाहीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो।
कार्यक्रममा सिमकोट गाउँपालिकाका कार्यपालिका सदस्य टोसी बिक, वडा सदस्य रुप्सी सुनार, सुरक्षाकर्मी, नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष छपाल लामा, इन्सेक प्रतिनिधि नन्द सिंह, नेपाल प्रेस युनियन हुम्लाका अध्यक्ष राज शाही, विभिन्न क्लबका खेलाडी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहअन्तर्गत पहिलो खेल आयोजक ब्राइट फ्युचर युवा क्लब र कैलाश माध्यमिक विद्यालयबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो।























